INSEC Online

📅 २०८३ जेष्ठ २१

जानकी गाउँपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु चार महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जानकी गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब सविधा पाउनबाट वञ्चितभएका छन् ।

चालु आर्थिक वर्ष २०८० / ०८१ को असोज महिनादेखि आफूहरुले तलब नपाएको जानकी गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले गुनासो गर्नुभएको छ ।

उहाँले भन्नु भयो– ‘असोज महिनादेखि तलब आएको छैन् ।  घर व्यवहार चलाउन, बच्चाको स्कुलको शुल्क तिर्न समस्या भएको छ । घरको आर्थिक स्रोत भनेको यही तलब हो । तलब नै चार महिनादेखि नपाएर बैङ्कको व्याज समेत तिर्न समस्या भएको छ ।’

लामो समयदेखि तलब नआएका कारण काम गर्ने इच्छाशक्ति तथा मनोवल घटेर जाने भएकाले काम गर्न समस्या भइरहेको सिनियर अहेव शोभा चौधरीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘बिरामीहरुलाई राम्रो सेवा प्रदान गर्नका लागि काम गर्ने वातावरण राम्रो हुन आवश्यक छ । कर्मचारीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकाले समयमा तलब दिन सक्नु पर्छ । तर, चार महिनादेखि तलब भत्ता नपाउदा काम गर्ने मनोवल घट्नुको साथै घर खर्च चलाउन पनि समस्या भइरहेको छ ।’

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका स्थानीय तहका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४९ जना स्वास्थ्यकर्मीहरुले असोज महिनादेखि तलब भत्ता नपाएको स्विकार गर्नु भयो ।

संघीय सरकारले चालु आर्थिक वर्षको दुई महिनाको मात्र बजेट पठाएको र असोज महिनादेखि तलब भत्ताको रकम नपठाएका कारण तलब दिन नसकेको भए पनि स्थानीय तहले करार तथा ज्यालादारीमा  नियुक्त गरिएका कर्मचारीहरुलाई भने गाउँपालिकाको बजेटबाटै नियमित तलब भत्ता दिइरहेको उहाँको भनाइ छ ।

जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले संघीय सरकारबाट आर्थिक वर्षको सुरुमा आउनु पर्ने प्रयाप्त बजेट समयमा नआएपछि तबल सुविधा उपलब्ध गराउन नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकामा समायोजन भएर आउनुभएका कर्मचारीहरुको लागि ३ करोड भन्दा बढि बजेट चाहिन्छ । तर, यस वर्ष १ करोड १४ लाख मात्र रकम प्राप्त हुँदा चार महिनादेखिको तलब भुक्तानी गर्न समस्या भएको हो ।’

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संघीय सरकारबाट समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुको तलब भत्ताको शिर्षकमा बजेट पठाउन संघीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पटक पटक लिखित तथा मौखिक ताकेता गर्दै आइरहेको भए पनि मन्त्रालयले समयमा बजेट नपठाउँदा समस्याभएको बताउनु भयो ।

अन्य

भिडियो