INSEC Online

📅 २०८३ जेष्ठ २१

दैनिक छाक टार्न समस्या भएपछि एकीकृत बस्तीमा बस्न मानेनन् भूकम्पपीडित

०७२ साल वैशाखको विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइले नौकुण्ड गाउँपालिकामा निर्माण गरेको एकीकृत बस्तीमा विस्थापित भूकम्पपीडित नबसेपछि अहिले सुनसान छ ।

नौकुण्ड गाँउपालिका–१ लाङ्बुमा २७ घर परिवारलाई प्रतिपरिवार २ लाख रुपियाँमा जग्गा खरिद गरेर प्रति घर ३ लाख रुपियाँ अनुदान दिएर निर्माण गरिएको एकीकृत बस्तीतमा साङयुल गाउँका विस्थापित परिवार जिविकोपार्जनमा समस्या भएको भन्दै नबसेपछि अहिले एकीकृत बस्ती सुनसान भएको हो । दैनिक छाक टार्नै समस्या भएको भन्दै उनीहरू त्यहाँ बस्न नसकेको बताउँछन् ।

भुकम्पका कारण विस्थापित बनाएको सोही वडाको साङयुल गाउँका २७ घर परिवारलाई निर्माण गरिएको लाङ्बुको एकीकृत बस्ती आफ्नो जग्गाबाट धेरै टाढा भएको भन्दै विस्थापित परिवार बस्न मानेनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले सुरक्षित स्थान छनोट गरी आवास निर्माण गरेको भन्दा पहिलेको बस्ती पुग्न तीन घण्टा पैदल जानुपर्ने भएपछि विस्थापित परिवार खेतीपाती गर्नबाट वञ्चित जस्तै भए ।

लाङ्बु एकीकृत बस्ती निर्माण गर्न सरकारको मात्र १ करोड १२ लाख रुपियाँको खर्च भएको छ । स्थानीय दावा तामाङ भननुहुन्छ–‘घरमात्र बनेको छ । के खाने ? कसरी बस्ने ? आफ्नो खेतीबारी उता रहेकोले साङयुलमै बसेका छौँ ।’

स्थानीय नुर्वु तामाङका अनुसार यहाँ जिविकोपार्जनका लागि खेती गर्ने एक टुक्रापनि जग्गा छैन । साङयुल पहिरोको जोखिम रहेकोले त्यहाँ घर बनाएर बस्न नमिल्ने भूगर्भविद्ले बताएपछि उनीहरूलाई सुरक्षित ठाउँमा सरकारले जग्गा खरिद गरेर आवास निर्माणमा सहयोग गरेको थियो ।
photo20240305rasuwa

अन्य

भिडियो