त्रियुगा नगरपालिका-७ कालिखोलामा अज्ञात समूहले भदौ १७ गते राति स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले वैकल्पिक राजमार्ग अर्न्तगत धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडक निर्माणमा प्रयोग गरिएको स्काभेटर जलाएको हो ।
सडक निर्माणको जिम्मा पाएको जेड आईइसि-शर्मा लामा जेभिको बा.२.क.६५५७ नम्वरको स्काभेटरमा आगजानी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए । उनले कुन समूहले आगजनी गरेको हो भन्ने बारेमा पहिचान खुलिनसकेकाले अनुसन्धान भइरहेको बताए ।
उदयपुरको कटारी गाईघाट सडक खण्डमा काम गरेर पार्किङ गरेको मेशिन भदौ १८ गते बिहान जलाएको अवस्थामा भेटिएको निर्माण कम्पनीले जनाएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट ८ किलोमिटर दुरीमा पर्दछ ।
करिव १ करोड मुल्यभन्दा माथि पर्ने स्काभेटर काम नै नलाग्ने गरी जलाइएको सहायक प्रोजेक्ट मेनेजर छिरिङ शेर्पाले बताए । उनका अनुसार सरकारले उच्च प्रथामिकता राखेर निर्माण सुरू गरिएको सडकको स्काभेटर आगजनी भएकाले पर्याप्त सुरक्षा नभए काम गर्न सकिँदैन ।