INSEC Online

📅 २०८३ जेष्ठ २१

बषौंदेखि खानेपानीको समस्या : स्थानीयबासीद्वारा व्यवस्थापन गर्न माग

पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँ, फार्सेकाँडा, बुढामारे, कुवासैनी, झल्लरा र भक्तडी गाउँमा बसोबास गर्ने तीन सय घरपरिवारले सदियौंदेखि खानेपानीको अभाव झेलिरहेका छन् । खानेपानीका स्रोतहरू गाउँदेखि टाढा छन् । भएका मूल पनि विस्तारै सुक्न थाल्नुले यहाँका नागरिकहरू चरम खानेपानीको संकट व्यहोरिरहेका छन् । यति मात्रै होइन खानेपानीकै कारण वर्षेनी बसाइँसराइ गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ ।

पञ्चपुरी नगरपालिका वडा नम्वर १ को तथ्याङ्क अनुसार खानेपानीकै अभावका कारण हालसम्म एक सय ५० घरधुरी बसाइँ सरिसकेका छन् । खानेपानीको सङ्कटलाई बेलैमा समाधान गर्न नसकिए पछि गाउँ नै रित्तो हुन सक्ने स्थानीय लक्ष्मी शाहीले बताउनुभयो । खानेपानीको लागि घण्टौं लाइन लाग्नुपर्ने र पर्याप्त पानी पाउन नसक्दा दुःख लाग्ने गरेको उहाँले बताउनुभयो । ‘पहिला एक घण्टा टाढाबाट पानी बोक्थ्यौं, अहिले घर नजिकै धारा आएपछि पानी सानो मात्रामा आउँछ । पानी भर्नकै लागि झगडा हुन्छ । कहिले त कुटाकुट नै हुन्छ,’शाहीले भन्नुभयो, ‘गाईवस्तुलाई खुवाउने पानी पनि पुग्दैन ।’ खानेपानी संकट टार्न नेताहरूले निर्वाचनमा दिएका आश्वासन पुरा गर्न नसकेको उहाँको भनाइ छ ।

यहाँका नागरिकलाई सहज खानेपानीको पहुँचमा पुर्याउने सरकारी प्रयास भएपनि त्यसले सार्थकता नपाएको स्थानीय धनबहादुर थापाले बताउनुभयो । पञ्चपुरी नगरपालिका–१ का हाँसेगाउँ, फार्सेकाँडा, बुढामारे, कुवासैनी, झल्लरा र भक्तडी लगायतका बस्तीमा खानेपानी समस्या टार्न २०७५ मा लिफ्ट खानेपानी आयोजना अघि सारिएको थियो ।

आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म आयोजना सम्पन्न गर्न नगरपालिकाले चासो दिन सकेको छैन । स्थानीय तहले कार्यान्वयन गर्ने आयोजनाबाट पाँच सय परिवारलाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य राखिएको थियो ।

‘सङ्घीय सरकारको विशेष अनुदान सहयोगमा अघि सारिएको आयोजना पाँच वर्षसम्म पनि काम अगाडि बढ्न सकेको छैन,’स्थानीयबासी थापाले भन्नुभयो, ‘नगरपालिकाले समेत यसमा चासो देखाएको छैन ।’

तत्काल खानेपानी आपूर्तिको व्यवस्थापन गर्न जरुरी रहेको थापाकोले बताउनुभयो । उहाँका अनुसार मुहानदेखि आयोजनाको अन्तिम बिन्दु हाँसेगाउँसम्म १ हजार ५ सय ३४ मिटर उचाइमा तीन ठाउँमा सौर्य ऊर्जा प्रणालीको जडान गरी लिफ्ट गरी पानी वितरण गर्नुपर्ने हुन्छ । नगरपालिकाले आयोजना कार्यान्वयनका लागि ७ करोड ४० लाख रुपियाँमा निर्माण गर्ने गरी ४ निर्माण व्यवसायीलाई ठेक्का दिएको छ ।

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले निर्माणको काम जारी रहेकाले अबको केही समयमा आयोजना सम्पन्न गरी स्थानीयलाई सहज पानीको पहुँचमा पुर्याउने बताउनुभयो ।
केही प्राविधिक समस्याका कारण आयोजनाले गति लिन नसकेको बताउँदै निर्माणमा विलम्ब नगर्न निर्माण व्यवसायीलाई बारम्बार ताकेता गरिरहेको  प्रमुख भण्डारीको भनाइ छ । ‘केही समयअगाडि बसेको नगरसभाको बैठकले ठेक्का सम्झौताभित्र नपर्ने संरचनाहरू यथाशीघ्र निर्माणको प्रक्रियामा लैजाने निर्णयसमेत गरेको छ,’प्रमुख भण्डारीले भन्नुभयो, ‘स्थानीयबासीलाई सहज हुनेगरी काम छिटो गराउन हामी लागिरहेका छौं ।’

Photo20240216Surkhet

अन्य

भिडियो