INSEC Online

📅 २०८३ जेष्ठ २१

रानीपानीको कुमालगाउँमा वर्षौँदेखि खानेपानीको अभाव

विहादी गाउँपालिकामा रहेको रानीपानीको कुमालगाउँमा वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका एक सय घरपरिवारले अहिले पनि त्यो समस्याबाट मुक्ति पाएका छैनन् ।

गाउँपालिकाको वडा ३ मा पर्ने रानीपानीको पाखाथर, थारार, थुम्केली, कोखेलथर, तीनघरे भन्ने स्थानहरू कुमाल जातिको बाक्लो बस्ती रहेको क्षेत्र हो । जहाँका कुमालहरू अधिकांश खेतीपातीमा आश्रित भई जीवन निर्वाह गर्दै आएका छन् । कुमालबस्तीमा केही वर्ष पहिले १५ घर परिवार बरावर एक धारा भनी बनाइएका पुराना धाराहरू छन् तर धारा वरिपरि रित्ता गाग्री लाम लागेर राखेको देखिन्छ । धारामा राम्ररी पानी झर्न छाडेको वर्षौँ भइसकेको छ ।

कुमालगाउँ भन्दा केही माथि पर्ने कुलबाधबाट पाइप बिच्छाएर खानेपानी ल्याएको भएपनि आसपासको टारी खेतमा सिँचाइ गर्न थालेपछि कुमालगाउँमा खानेपानीको अभाव हुन थालेको वडा अध्यक्ष गणेश प्रसाद पराजुलीको बताउनुभयो ।

स्थानीय ६८ वर्षीय सुभद्रा कुमालले खानेपानीको समस्या भएको बताउँदै दुई गाग्राी पानीका लागि पनि लामो समय हिडेर घण्टौ समय कुर्नु पर्ने अवस्था रहेको दुखेसो पोख्नुभयो । कुमालगाउँका स्थानीय युवा दिलीप बहादुर कुमालले जति सुकै प्रयास गरेपनि खानेपानीको समस्या समाधान हुन नसकेको गुनासो गर्दै स्थानीय सरकारले पहल गर्ने हो भने समस्याबाट मुक्ति मिल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष पराजुलीले कुमालगाउँको खानेपानी समस्या रहेको कुरा स्वीकार गर्दै उहाँले कुमालगाउँमा निर्वाहमुखी खानेपानीको सुविधा रहेको बताउनुभयो ।

विहादी गाउँपालिकाका उपप्रमुख मीना तिवारीका अनुसार सोही कुमाल गाउँलाई लक्षित गरी विहादी गाउँपालिका ले बोरिङ प्रविधिबाट खानेपानी वितरण गर्ने गरी योजना बनाएको र छिट्टै योजना सुरुवातको चरणमा रहेको बताउनुभयो ।

अन्य

भिडियो