INSEC Online

📅 २०८३ जेष्ठ २१

मोसो दल्ने प्रयास घटनाका आरोपित गिरफ्तार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) का कायम मुकायम उपकुलपति प्राध्यापक डाक्टर प्रह्लाद कार्कीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई माघ १६ गते गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेमा सदीप सिर्पाली, निशान कटवाल र खेम थापा रहेको प्रहरीले जनाएको छ ।

उपकुलपतिलाई ०८० माघ १६ गते मोसो दल्ने प्रयास गरेको आरोपमा तीन जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो ।

वीपी प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दल्ने प्रयास भएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनले जनाएको छ ।

उपकुलपतिको कार्यकक्षमा भेट्न गएका युवाले मोसो दल्ने प्रयास भएको प्रहरीले जनाएको छ ।

डिएसपी नविनकृष्ण भण्डारीले माघ १६ गते उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेको बताउनु भयो ।

शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेको कारण प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ । कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप शिक्षक र कर्मचारीको छ ।

बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि ०८० पुस २९ गतेदेखि नै ओपीडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित हुँदै आएको छ ।

अन्य

भिडियो