INSEC Online

📅 २०८३ जेष्ठ २१

शौचालयको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरुलाई सास्ती

जिल्लास्थित सामुदायिक विद्यालयमा रहेका शौचालयहरुको उचित व्यवस्थापन तथा सरसफाई नहुँदा विद्यार्थीहरुले सास्ती खेप्नु परेको छ ।

सामुदायिक विद्यालयमा रहेका शौचालयको उचित प्रयोग, सरसफाई र व्यवस्थापन नहुँदा विद्यार्थीहरु खुलाचौर तथा घरमै पुगेर शौच गर्न बाध्य छन् ।

वेदकोट नगरपालिका–७ सुडास्थित श्री घटाल माध्यामिक विद्यालयका शौचालयहरु सरसफाईको कमीले दुर्गन्धित भएका कारण प्रयोग गर्न समस्या भइरहेको र विद्यालयको वातावरण नै दुर्गन्धित भएको विद्यार्थीहरुको गुनासो छ ।

सरसफाईको अभावमा विद्यालयका शौचालयहरु दुर्गन्धित भई प्रयोग गर्न उपयुक्त नभए पनि बाध्यताले प्रयोग गर्नु परेको कक्षा नौ मा अध्यरत विद्यार्थी बसन्ती विष्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘शौचालय फोहर भएर दुर्गन्धित छन् । शौच गर्न जान पनि अप्ठयारो हुन्छ । शौचालयमा दिसापिसाब माथि नै देखिएको हुन्छ । फोहर शौचालयका कारण संक्रमक रोग लाग्ले जोखिम पनि छ । फोहर शौचालयका कारण उल्टी आउने गरेको छ ।’

चिसोको मौसममा धेरै पटक पिसाव लाग्ने भएकोले नाक थुनेर भए पनि बाध्यताका कारण विद्यालयका शौचालय प्रयोग गर्नु परेको भए पनि शौचालयहरु दुर्गन्धित अवस्थामा रहेकोले नजिकै घर भएका विद्यार्थीहरु दिसापिसाब लाग्दा घरमा नै जाने गरेको अञ्जली ठगुन्नाले बताउनु भयो ।

विद्याययका शौचालयहरुको उचित सरसफाई तथा व्यवस्थापनको (शौच विसर्जन, मलमूत्रको उचित व्यवस्था) अभावमा वातावरणीय प्रदुषण लगायत अन्य रोगव्याधिको समस्या पनि निम्त्याउन सम्भावना रहेकोले यसतर्फ विद्यालय प्रशासनले ध्यान दिन आवश्यक भएको स्थानीय अभिभावक दिपक बैजले बताउनु भयो ।

वेदकोट नगरपालिकाका २२ ओटा सामुदायिक विद्यालयहरुको अनुगमन गर्दा आधा भन्दा बढि विद्यालयहरुमा सरसफाईको कमी, शौचालयहरुको उचित प्रयोग तथा व्यवस्थापन, सेनेटरी प्याडको व्यवस्थापनका समस्याहरु देखिएको क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक कोमल जोशीले बताउनु भयो ।

कतिपय सामुदायिक विद्यालयका शौचालयहरु भरिएरका कारण खुला क्षेत्रमा पिसाब गर्ने, कुनै विद्याययमा दुर्गन्धित शौचालय प्रयोग गर्न विद्यार्थी बाध्य भएका तर शिक्षकहरुले प्रयोग गर्ने शौचालय सफा रहेको र ताल्चा लगाउने गरिएको उहाँले बताउनु भयो ।

जिल्लास्थित सामुदायिक विद्यालयहरुमा रहेका शौचालयहरुमा, सरसफाई नगरिने,  शौचालयमा ढेका नभएका, प्यानहरु फुटेका र कुनै शौचालयहरुमा पानीको समेत व्यवस्था नभएको भए पनि वद्यालय प्रशासनले चासो नदिएका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको स्थानीय अभिभावकहरुको आरोप छ ।

श्री घटाल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले स्थानीय सरकार र गैरसरकारी संस्थाहरुसँग समन्वय गरी विद्यालयमा देखिएका कमीकमजोरीहरुलाई यथासक्य चाडो सुधार गर्ने बताउनु भयो ।

शौचालय प्रयोग गरेपछि विद्यार्थीहरुले पानी नहाल्ने र खुला मैदानमा विद्यालयको शौचालय भएका कारण अन्य व्यक्तिहरुले पनि प्रयोग गर्ने भएकाले समस्य भएको भए पनि आगामि दिनमा शौचालय व्यवस्थापन तथा सरसफाईमा समस्या नहुने विद्यालयका प्रधानध्यापक कृष्ण भण्डारीले बताउनु भयो ।

विद्यालयमा शौचालय प्रयोग गर्न बालबालिकाहरुले समस्या भोग्नु परेको सन्दर्भमा आफूलाई अहिलेसम्म कहिकतैबाट उजुरी वा जानकारी नआएको भए पनि आगामि दिनमा विद्यालय तथा गाउँपालिकालाई यस विषयमा संवेदनशिल भई विद्यालय व्यवस्थापनमा ध्ययन दिन अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताउनु भयो ।

संविधानको मौलिक हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरिएको भए पनि जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु फोहर शौचालयहरु प्रयोग गर्न बाध्य छन् ।

photo20240130kanchanpur (1)

अन्य

भिडियो