INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले पाठ्यपुस्तक बगाएका बालबालिकाको पठनपाठन प्रभावित

बाढी प्रभावित डुडुवा गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरीका बालबालिकाहरूको पाठ्यपुस्तक बाढीले बगाउँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।

साउन २७ र २८ गते आएको बाढीले बगाएका पुस्तक भदौ १२ गतेसम्म बालबालिकाले कुनै निकायबाट पाउन सकेका छैनन् । बाढी प्रभावित क्षेत्रका केही विद्यालय सञ्चालनमा आए पनि सबै विद्यालय भदौ १२ गतेसम्म सञ्चालन हुन सकेका छैनन । सञ्चालनमा आएका विद्यालयमा पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय जान छोडेका छन् ।

डुडवा गाँउपालिकाकास्थित श्री नेरा प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरी भदौ १२ गतेसम्म सञ्चालन हुन सकेका छैनन् । भदौ १२ गतेदेखि विद्यालय सञ्चालन भएको प्रि्रहवामा ६ सय विद्यार्थी रहेको भएपनि कक्षा १ देखि ८ सम्म २९ जना विद्यार्थी मात्र विद्यालय आएका छन् ।

उक्त विद्यालयका प्रधानाध्यापक सावितराम बर्माले सबै विद्यार्थीको पाठ्यपुस्तक बाढीले बगाएको र केही काम नलाग्ने गरी भिजेको बताए । यस विषयमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएपनि हालसम्म पाठ्यपुस्तक उपलब्ध नभएको प्रधानाध्यापक बर्माले गुनासो गरे ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा करिब ६ हजार विद्यार्थीको पाठ्यपुस्तक नष्ट भएको छ । जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले पाठ्यपुस्तक खरिदका लागि २७ लाख रुपियाँ माग गरिएको बताउँदै छिट्टै नै पुस्तक उपलब्ध गराइने आश्वासन दिए ।

अन्य

भिडियो