INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि दुर्व्यवहार, आरोपितलाई कारवाही गर्न माग

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार राजकरण महतोलाई काठमाडौंमा दुर्व्यवहार भएको घटनामा विभिन्न सरोकारवालाले ध्यानाकर्षण भएको जनाएका छन् । आरोपितलाई कारवाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् । 

दुर्व्यवहार गरिएका पत्रकार राजकरण महतो
दुर्व्यवहार गरिएका पत्रकार राजकरण महतो

महोत्तरीको बर्दिबास नगरपालिका–१३ विजलपुरा घर भई काठमाडौँस्थित अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार महतोमाथि सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) बा २ ख ४५३४ नम्बरको गाडीका चालक र सहचालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुर्व्यवहार गरेको पीडित पत्रकार महतोले आरोप लगाउनु भएको छ ।

उहाँले इन्सेक अनलाइनसँग भन्नु भयो-‘मसँग भएको यो पहिलो घटना होइन । मेरो जातीय पहिचान मधेसी समुदायमाथि गरिने यस्ता सार्वजनिक बेइज्जती मलगायत तमाम व्यक्तिले भोग्दै आएका छन् । आरोपितलाई गिरफ्तार गरी कार्वाहीका लागि याचना गरेको छु । तर, कारवाही प्रक्रिया अघि बढेको थाहा छैन ।’

पत्रकार महतोले नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा माघ ७ गते नै उजुरी दिनुभएको थियो । मधेसी आयोगले माघ ८ गते प्रहरी प्रधान कार्यालयलाई घटनाको छानबिन गरी कारवाहीका लागि सिफारिस गरेको छ । नेपाल पत्रकार महासङ्घलगायत सङ्घसंस्थाले आरोपितलाई कारवाही गरी साम्प्रदायिक सद्भाव कायम गर्न माग गरेका छन् ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले कसैको पनि आत्मसम्मानमा चोट पुर्‍याउन नहुने बताउनु भयो । सञ्चार सम्बद्ध विभिन्न सङ्घसङ्गठनले पनि घटनाका सम्बन्धमा आपत्ति जनाएका छन् ।

घटना सम्बन्धमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा, मधेसी पत्रकार समाज, जिल्लास्थित नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, बर्दिबास नगर पत्रकार सञ्जाल, तराई मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठान बर्दिबास, गौशाला नगर पत्रकार सञ्जालसहितका सङ्घसंस्थाले घटनाको भर्त्सना गर्दै दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् ।

अन्य

भिडियो