INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितसँग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको आरोप

भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कमा धर्मध्वज भण्डारीले शिक्षिका देवकी विश्वकर्मासँग विवाह गरेको भन्दै पुरेत नआएपछि उक्त परिवारले घरमा ०८० माघ ११ गते परेको आफ्नो पितृको श्राद्ध गर्न पाएनन् । जातीय विभेद झल्कने गरी ब्राम्हाण नआएकै कारण तिथि रोकिएको धर्मध्वजकी आमा गङ्गादेवी भण्डारीले आरोप लगाउनु भयो ।

‘पतिको तिथि भएकाले म सहित दुई छोरा र बुहारीहरू एक छाक बस्यौँ, अघिल्लो वर्ष छोरा बुहारी अलग्गै बसे पनि यो वर्ष छोरा बुहारीकोमा गएर अछुतो भयौँ । त्यो घरमा श्राद्ध गर्न मिल्दैन । म आउँदिन घर बाहेक अन्यत्र श्राद्ध गर्ने भए आउने भन्दै ब्राम्हण माधवराज न्यौपानेले दिनभर कुराए’, गङ्गादेवी भण्डारीले उल्लेख गर्नुभयो ।

गङ्गादेवी भण्डारीले भन्नुभयो,’मैले मेरो पति यही घरमा बित्नु भएकोले बाँचुञ्जेल यही घरमा नै श्राद्ध गर्छु भनेर कतै नजाने भनेँ तर ब्राम्हण माधवराज न्यौपानेले मेरो छोरा धर्मध्वजले शिक्षिका देवकी विश्वकर्मासँग विवाह गरेका कारण घरमा श्राद्ध गर्न मान्नुभएन ।’

पूर्णिमाको दिन ०८० माघ ११ गते श्राद्धका लागि दिनभर भोकै उहाँहरूले ब्राम्हणलाई कुर्नुभएको थियो । दलित महिलासँग विवाह गरेकै कारण तिथिमा परेको श्राद्ध गर्न नगएको भन्ने विषयमा ब्राम्हण माधव न्यौपानेले अनविज्ञता प्रकट गर्नुभयो । आफू काठमाडौँमा बस्ने भएकाले त्यता जान नभ्याएर यतै आएमा श्राद्ध गरिदिन्छु भनेको उल्लेख गर्नुभयो । दलितसँग विवाह गरेको भन्ने कुरा उहाँलाई थाहा नभएन बताउनु भयो ।

भुम्लु गाउँपालिका-२, सिंम्थलीमा रामबहादुर भण्डारीको ०७६ माघ १५ गते निधन भएको थियो । उहाँको पत्नी ७२ वर्षीया गङ्गादेवी भण्डारी दुई छोरा मध्ये धर्मध्वज भण्डारीसँग बस्दै आउनुभएको छ । ०७७ असार २२ गते धर्मध्वज भण्डारीले देवकी विश्वकर्मासँग प्रेम सम्बन्धपछि मागि विवाह गरेका हुन् । देवकी ०६३ सालदेखी सोही वडाको श्री बाल उन्नती आधारभुत विद्यालयमा शिक्षण पेशा गर्दै आउनुभएको छ । गङ्गादेवी र रामबहादुरका दुई छोरा मध्ये कान्छो छोराको परिवार नै बनेपामा बस्नुहुन्छ ।

गाडी चालक धर्मध्वज र देवकी २५ रोपनी जमिन भाडामा लिएर गाउँमै बाख्रा पालन व्यवसाय समेत गर्नुहुन्छ । तिनपुस्ता देखी उहाँहरूले उनै पुरेतका खलकसँग तिथि श्राद्ध गर्दै आउनुभएको छ । आफूहरूलाई जातीय छुवाछुतको व्यवहार भएको बताउँछन् ।

भुम्लु गाउँपालिका-२ का वडाध्यक्ष सुजन भण्डारीले आफूलाई फोनमा समान्यः जानकारी आए पनि वडामा कुनै निवेदन नपरेको बताउँछन् । उहाँले यस अगाडि पनि उक्त परिवारमा जग्गाको विषयमा झगडा परेर दलितसँग विवाह गरेकै भरमा त्यसो गर्न नहुने भनेर मिलाइएको बताउनु भयो ।

नेपालको संविधान जारी हुनु पूर्व नै नेपाली समाजमा कानुनी रूपमा छुवाछुतलाई उन्मुलन गरिए पनि सामाजिक रूपमा यस प्रकारका कुप्रथाहरू अझैसम्म विद्यमान रहेका छन् । त्यसैले नेपालको संविधानले धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त धाराको उपधारा (१) मा “कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन” भन्ने छ । यसरी यस उपधारामा निजी तथा सार्वजनिक दुवै स्थानमा छुवाछुत निषेध गरिएको छ । तर दलितसँग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको उक्त परिवारको आरोप छ ।

अन्य

भिडियो