आइ.एन.एफ. हरियोखर्क अस्पतालको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको समन्वयमा बाल सुधार गृह सराङकोटमा माघ ११ गते स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इन्सेकद्वारा ०८० भदौ १० गते बाल सुधार गृहको अनुगमनको क्रममा बालकहरुको स्वास्थ्य अवस्था र स्वास्थ्य सुविधाको बारेमा जानकारी लिने क्रममा बालकहरुमा सबैभन्दा बढि छाला सम्बन्धी रोग र केही बालकहरुमा टि.बि. र पेट सम्बन्धी रोगहरु रहेको कुरा बालसुधार गृहकी मनोसामाजीक परामर्शकर्ता ज्योती शर्माले जानकारी गराउनुभएको थियो । साथै उहाँले बालसुधार गृहमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएकोले इन्सेकलाई स्वास्थ्य शिविरको व्यवस्था मिलाउनका लागि अनुरोध गर्नुभएको थियो ।
बालकहरुको उचित स्वास्थ्य परीक्षण को लागि इन्सेकले आइ.एन.एफ. संग समन्वय गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट ४९ जना बालकहरुले छाला सम्बन्धी र एक जनाले दाँतको परीक्षण गराएर निःशुल्क औषधी प्राप्त गर्नुभएको उपचारमा सम्लग्न डा. प्रकाश नेपालीले बताउनुभयो ।
हाल बालसुधार गृह सराङकोटमा विभिन्न बालविज्याइमा परेका ९९ जना बालकहरु रहेका छन् ।


