कोशी प्रदेशमा रिक्त दुई पदका लागि ०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अन्य समूहका उम्मेद्वार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एमालेकी रुक्मीणि कोइराला निर्वाचित हुनु भएको छ ।
नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला कूल ५ हजार २ सय ९२ मतभार र महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला कूल ५ हजार ८६ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भयो ।
नेपाली कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौला ७ सय ३० मतभारले निर्वाचित हुनुभएको छ ।


अन्यतर्फमा राप्रपाका उम्मेद्वार उद्वव पौडेलले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नु भयो । प्रदेशसभा सदस्यतर्फ सिटौलाले २ हजार ३ सय ८५ र स्थानीय तहतर्फ २ हजार ९ सय ७ मत प्राप्त गर्नुभयो ।
पौडेलले प्रदेशसभातर्फ २ हजार ४ सय ९१ र स्थानीय तहतर्फ २ हजार ७१ मत प्राप्त गर्नुभयो । कोशी प्रदेशमा प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाउनुभयो भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाउनुभयो ।
स्थानीय तहतर्फ सिटौलाले १ सय ५३ मत प्राप्त गर्नुभयो भने राप्रपा उम्मेद्वार पौडेलले १ सय ९ मत प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ चार मत बदर भएको छ ।
एमालेका पर्शुराम अधिकारीले एक सांसद र पाँच स्थानीय तहका पदाधिकारीको मत पाउनुभयो । उहाँले पाएको मतभार १ सय ४८ रहेको छ ।
महिलातर्फ एमालेकी रुकमिणी कोइराला निर्वाचित हुनु भयो । कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्नुभयो । महिलातर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मत मात्र प्राप्त गर्नुभयो ।
कोइरालालाई १ सय ३१ जना स्थानीय तहका जनप्रतिनिधि र ४९ जना प्रदेशसभा सदस्यले मत दिएका छन् ।
निर्वाचनमा प्रदेशसभा तर्फका ९३ जना सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहतर्फका २ सय ७४ मतदाता मध्ये २ सय ७१ जनाले मात्रै मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ मतदाता छन् ।