राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन जना सदस्यका लागि माघ ११ गते विहान ९ बजेदेखि सुदूरपश्चिम प्रदेश सभाको परिसरमा सञ्चालन गरिएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मतदान अवधीभरी कुनै प्रकारको समस्या नभई शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्रबहादुर पालले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १ सय ७५ जनाले मतदान गर्नु पर्नेमा १ सय ७३ जना र प्रदेश सभाका ५२ जना सदस्यहरुले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अधिकृत प्रेमराज भट्टले बताउनु भयो । सुरक्षाको सबै प्रवन्ध गरी मतपेटिकाहरु सुदूरपश्चिम प्रदेश सभाको हलमा राखेर मतगणना कार्य पनि सुरु भएको उहाँले बताउनु भयो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदानमा भाग नलिएको निर्वाचन कार्यालयका अधिकृत भट्टले बताउनु भयो । गोपी हमाल स्वातन्त्र उम्मेदवारीबाट निर्वाचित मेयर हुन भने तिरुवा नागरिक उन्मुक्ती पार्टीबाट निर्वाचित उपप्रमुख हुन् ।
सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठवन्धनको ४ हजार ४ सय ५७ मतभार रहेको छ भने एमालेको १ हजार ४ सय ८० गरी ६ हजार १ सय मतभार रहेको छ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन रिक्त पदका लागि तीन राजनीतिक दलका ६ जना उम्मेदवार रहनु भएको छ ।
नेपाली कांग्रेसबाट बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट नारायणदत्त भट्ट, सत्ता गठबन्धन महिला तर्फ नेकपा माओवादी केन्द्रबाट रेनु चन्द, नेकपा एमालेबाट इश्वरीप्रसाद खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट रामचन्द्र जोशी उम्मेदवार रहनु भएको छ ।