INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सुरु

राष्ट्रियसभा सदस्यका लागि कोशीमा निर्धारित समयमा मतदान सुरुआत भएको छ ।

photo 20240125 morang

कोशीमा दुई सिटका लागि निर्वाचन आयोगको प्रदेश कार्यालयमा मतदान सुरु भएको हो ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

बिहान नौ बजेदेखि सुरुआत भएको मतदान दिउँसो ३ बजेसम्म हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

०८० फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भइरहेको छ । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशमा दुई सिटका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

दुई सिटका लागि कोशीमा गठन्बन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एकीकृत माओवादी केन्द्रकी चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनु भएको छ ।

नेकपा एमालेबाट अन्यतर्फ भोजपुरका पर्शुराम अधिकारी र  महिलातर्फ सुनसरीकी रूक्मीणि कोइरालाले मनोनयन दर्ता गराउनु भएको छ ।

राप्रपाबाट अन्य तर्फमा विराटनगरका उद्वव पौडेलले मनोनयन दर्ता गराउनु भएको जिल्ला अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि कोशीमा नेकपा एमाले र राप्रपाले माघ ८ गते तालमेल गरेका छन् ।

राप्रपाका उम्मेद्वार उद्वव पौडेल र एमालेकी महिला उम्मेद्वार रुक्मीणि कोइरालालाई मतदान गर्ने गरी तालमेल गरिएको नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनु भयो ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २ हजार १ सय २०, काँग्रेसको १ हजार ५ सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको ३ सय १८, एकीकृत समाजवादीको २ सय १२ र जसपाको ५३ मतभार छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १ सय ३७ ओटा स्थानीय तहका २ सय ७४ मध्ये एमालेका १ सय १०, काँग्रेसका १ सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।

स्थानीय तहमा एमालेको २ हजार ९०, काँग्रेसको २ हजार १ सय ८५, माओवादीको ५ सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १ सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २ सय १०, नेपाली कांग्रेसको ३ हजार ७ सय २२ र माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।

एकीकृत समाजवादीको ३ सय ४५, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

विहान ९ वजेदेखि ३ बजेसम्मका लागि निर्धारित समयमा मतदानको कार्यक्रम सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भएको छ ।

अन्य

भिडियो