INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा आचारसंहिता विपरितका गतिविधि, सत्यतथ्य बुझ्न आयोगको निर्देशन

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मौन अवधिमा कोशी प्रदेशमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदान कार्यक्रम अघि निर्वाचन आयोगले ०८० माघ ९ गतेदेखि ४८ घण्टाका लागि तोकेको मौन अवधिको समयमा कोशी प्रदेशमा राजनीतिक दल र तिनका प्रतिनिधिसहित उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

मौन अवधिको समयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विराटनगरमा चियापान कार्यक्रम गर्नु भएको छ ।

20240124 morang k

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर ०८० माघ १० गते विराटनगरमा चियापान गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनैपनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । त्यसलाई उल्लंघन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी हुनु भएको छ ।

20240124 morang k1

चियापानमा काँग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएको पाइएको छ ।

नेपाल एमाले र राप्रपाले मौन अवधिमा भेला राखेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

20240124 morang a

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार र मतदाताहरु बोलाएर भेला राखेको पाइएको हो ।

भेलामा नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरु भेलामा सहभागी भएको पाइएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइरालाले उम्मेद्वारी दिनु भएको छ ।

कोशीबाट प्रतिनिधित्व गर्ने एमालेका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु विराटनगरको होटल ह्यारिसनमा भेला भएको पाइएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अबधिमा कोशी प्रदेशमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

20240124 morang aa

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको विषयमा अनुगमन गरी त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा त्यसविपरित विराटनगरमा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको जानकारी आएको भन्दै आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

अन्य

भिडियो