INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या गरेको भनिएको घटनाको स्थलगत अनुगमन

१५ वर्षीया छोरीलाई बलात्कार गरेको घटना लुकाउन २१ वर्षीय छोराको हत्या गरेको भनिएको घटना सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको नेतृत्वमा गएकोे संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको नेतृत्वमा माघ ८ गते आवाज संस्थाकी सिनियर काउनसेलर निशा पौडेल र दलित महिला सङ्घ फेडोका सचिव खगिसरा वलीको संयुक्त घटनास्थलमा गएर अनुगमन गरेको हो ।

उक्त टोलीले घटनाको विस्तृत अध्ययनसँगै इलाका प्रहरी कार्यालय, पञ्चपुरीका प्रमुख विनोद सुवेदीसँग घटनाको विषयमा जानकारी लिएको छ । अनुगमन टोली घटनास्थल वरपरका स्थानीयवासी, घटनास्थल, प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको छ । घटनाका आरोपितसँग र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग माघ ९ गते भेटघाट गर्ने कार्यक्रम रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले जानकारी दिनुभयो ।

छोरालाई माघ १ गते राति बञ्चरो प्रहार गरेर हत्या गरी फरार भएका ४२ वर्षीय बाबुविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा मृतकका काकाले कर्तव्य ज्यानको जाहेरी दिनुभएको थियो ।
घटनाका आरोपित बाबुलाई प्रहरीले पुस ४ गते कैलाली जिल्लाको टिकापुरबाट गिरफ्तार गरी आरोपितलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१९ वर्षीया छोरीलाई ०८० असोज २७ गते बाबुले बलात्कार गरेको भन्दै २१ वर्षीय छोराले प्रहरीमा कात्तिक १५ गते उजुरी दिएका थिए । उजुरी परे लगत्तै आरोपित फरार भएका थिए । बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा आरोपित दिएको रिसमा हत्या गरेको उजुरीमा उल्लेख गरिएको छ ।

हाडनाताकरणीको मुद्दा परेपछि आरोपित कान्छी पत्नीसहित भागेर भारत गएका थिए । भारतबाटै योजनाबद्धरुपमा आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कृष्णबहादुर खड्काले बताउनु भयो । शवको पोष्टमार्टम माघ ४ गते प्रदेश अस्पतालमा भएको थियो । मृतकका परिवारले माघ ५ गते पञ्चपुरीमा शवको सदगद गरेका थिए ।

Photo20240123 Surkhet (2)

अन्य

भिडियो