राष्ट्रियसभा निर्वाचन अन्तर्गत ०८० माघ ९ गतेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा प्रचारप्रसार कार्य गर्नमा रोक, राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनु भयो ।
मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भयो ।
माघ ११ गते हुने निर्वाचनमा कोशी प्रदेशमा दुई सिटका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
दुई सिटका लागि कोशीमा गठन्बन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एकीकृत माओवादी केन्द्रकी चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनु भएको छ ।
नेकपा एमालेबाट अन्यतर्फ भोजपुरका पर्शुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मीणि कोइरालाले मनोनयन दर्ता गराउनु भएको छ ।
राप्रपाबाट अन्य तर्फमा विराटनगरका उद्वव पौडेलले मनोनयन दर्ता गराउनु भएको जिल्ला अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि कोशीमा नेकपा एमाले र राप्रपाले माघ ८ गते तालमेल गरेका छन् ।
राप्रपाका उम्मेद्वार उद्वव पौडेल र एमालेकी महिला उम्मेद्वार रुक्मीणि कोइरालालाई मतदान गर्ने गरी तालमेल गरिएको नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनु भयो ।
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ मतदाता छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २ हजार १ सय २०, काँग्रेसको १ हजार ५ सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको ३ सय १८, एकीकृत समाजवादीको २ सय १२ र जसपाको ५३ मतभार छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १ सय ३७ ओटा स्थानीय तहका २ सय ७४ मध्ये एमालेका १ सय १०, काँग्रेसका १ सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।
स्थानीय तहमा एमालेको २ हजार ९०, काँग्रेसको २ हजार १ सय ८५, माओवादीको ५ सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १ सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २ सय १०, नेपाली कांग्रेसको ३ हजार ७ सय २२ र माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।
एकीकृत समाजवादीको ३ सय ४५, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
माघ ११ गते विहान ९ वजेदेखि ३ वजे सम्म मतदानको कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भएको छ ।