INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र प्रहरीको कुटपिटबाट एक जना स्थानीय घाइते

भारतको बनबासाबाट घरायसी समान लिएर आउदै गरेका बेदकोट नगरपालिका–१ हात्तीथलाका ४० वर्षीय बसन्तबहादुर धामीलाई ०८० माघ ४ गते जिल्लाको पश्चिमी सिमाना गड्डाचौकीस्थित भन्सारमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका छन् ।

साँझको समयमा घरायसी सामान लिएर आइरहेको अवस्थामा सादा पोषाकमा खटिनु भएका शसस्त्र प्रहरी बलका वरिष्ठ हबल्दार बोहराले टर्चलाइटले टाउँकोमा प्रहार गरेपछि टाउँकोमा गहिरो चोट लगेको र उपचारका क्रममा पाँच ओटा टाँका लगाइएको पीडितकी पत्नी अम्मरा धामीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनामा संलग्न सुरक्षाकर्मीका विरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिन आएको भए पनि छलफल गर्ने भनेपछि अहिलेलाई उजुरी नदिएको तर आफूहरुले न्याय नपाउने अवस्था भएमा उजुरी दर्ता गराउने पीडितकी पत्नी धामीको भनाइ छ ।

सीमा सुरक्षा बल २५ नम्बर गण, शैलेश्वरीका एसपी प्रेम रावलले सुरक्षाकर्मीले स्थानीय नागरिकलाई कुटपिट गरेको घटनाका सन्दर्भमा ध्ययनाकर्षण भएको र घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही गरिने बताउनु भयो ।

घाइतेका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनु भएको भए पनि दुबै पक्षबिच छलफल भइरहेको र अहिलेसम्म पीडित पक्षले जाहेरी नदिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

कुटपिटबाट टाउँकोमा गहिरो चोट लागि घाइते भएका धामीको प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको छ ।

photo20240118kanchanpur

अन्य

भिडियो