INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाही नगरिएको भन्दै पत्रकारहरूद्वारा धर्ना

पत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्य तथ्य छानविन गर्न गठन गरिएको समितिले तोकिएको समयभित्र काम नगरेको भन्दै बागलुङका पत्रकारले जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव बागलुङको जैमिनी नगरपालिका–७ बोरका ३४ वर्षीय रानालाई ०८० पुस १४ गते राती प्रहरीले कुटपिट गरेको थियो । प्रहरीको कुटपिटबाट रानाको हात र खुट्टामा चोट लागेको थियो । उद्योग वणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सवको अन्तिम दिन नागरिक माथी भएको प्रहरी दमनको फोटो भिडियो कैद गरिरहेको सन्र्दभमा प्रहरीले लाठी चार्ज गर्दा रानालाई चोट लागेको थियो ।

यस घटनाको छानविन गरि दोषीलाई कारबाही गर्न बागलुङका पत्रकारले प्रहरी प्रशासनमा दबाब दिएपछि ०८० पुस २५ गते बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

पुस २९ गते भित्र प्रतिवेदन बुझाउने गरि गठन भएको छानविन समितिले माघ ३ गतेसम्म पनि छानविन प्रतिवेदन नबुझाएको, छानविन समितिले गरेको कामको प्रगतिको विषयमा जानकारी नगराइएको भन्दै पत्रकारहरुले माघ ३ गते दिउसो १२ बजेबाट १ बजेसम्म धर्ना दिएका हुन् ।

दोषीलाई कारबाही नगरिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्यले जानकारी दिनुभयो ।

aandolan

अन्य

भिडियो