जहदा गाउँपालिका-१ का दश वर्षीय बालक धनीधर राजवंशीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा धनीधरलाई ०८० पुस २५ गते अपहरण गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पुस २५ गते गिरफ्तार गरेको हो ।
अपहरणमा परेका बालकको उद्दारसहित अपहरण घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि तीन जनालाई विराटनगर महानगरपालिका-१८ बुधनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।
घर नजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला बालकलाई अपहरण गरेर लगिएको डिएसपी दाहालको भनाइ छ ।
स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ, भनेर तीन जनाले बालकलाई साइकलमा राखेर विराटनगर महानगरपालिका-१५ स्थित खाकीबाबा मन्दिर नजिक पुर्याएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहालले बताउनु भयो ।
खाकीबाबा मन्दिरबाट बालकलाई अन्यत्र लैजाने क्रममा स्थानीयले होहल्ला गरेपछि प्रहरीले घटनाका विषयमा सूचना पाएको थियो ।
तत्काल प्रहरीले आरोपितहरूलाई पिछा गरेर विराटनगर महानगरपालिका-१८ बुधनगरबाट गिरफ्तार गरेको डिएसपी दाहालको भनाइ छ ।
बालकका बाबुले अभिभावकलाई थाहा नदिइकन खेलिरहेको ठाउँबाट मञ्जुरी बिना नै छोरालाई अपहरण गरेको भन्दै पुस २५ गते इलाका प्रहरी कार्यालय, रानीमा उजुरी दिनु भएको छ ।
गिरफ्तारीमा परेकाविरूद्ध प्रहरीले जिल्ला अदालतबाट पुस २५ गते म्याद थप गरी अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरेको छ ।