कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेमाथी ०८० पुस २३ गते नगर प्रमुख ५३ वर्षीय ललन प्रसाद गुप्ताले हातपात गरेको विरोधमा कर्मचारीहरु कामकाज ठप्प गर्दै आन्दोलनमा उत्रिएका छन् ।
नगर प्रमुख गुप्तामाथि कानुन बमोजिम कारवाही नभएसम्म अति आवश्यक काम बाहेक सबै काम बन्द राख्ने विज्ञप्ति जारी गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिका र १२ ओटै वडाका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएपछि दैनिक कामकाज प्रभावित भएको छ । अवस्था तनावग्रस्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपबाट दर्जर्नौको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार औपचारिक निर्णय वेगर ४ जनालाई तलब खुवाउन अस्विकार गरेपछि दुर्व्यवहार भयो । “नगर प्रहरीमार्फत बोलाइएर म पुगेपछि ढोकाको चुकुल लगाएर प्रमुख गुप्ताले के गर्न चाहेको हो, ४ जनालाई तलब किन नखुवाएको भन्दै जंगिनुभयो”, घिमिरेले भन्नुभयो “नगरसभाबाट नीतिगत निर्णय नगरेको विषयमा नगरपालिकाको वैठक बसेर, सभाबाट अनुमोदन गर्ने गरी को–को नयाँ मानिसलाई भर्ना गर्ने, तलब खुवाउने वा व्यवस्थापन गर्ने गरौ, अन्यथा तलब खुवाउन मिल्दैन भन्दा नगर प्रमुखले हात हालेर नै दुर्व्यवहार गर्नुभयो, घाँटी समाउन खोज्नु भयो ।”
टिप्पणी समेत नउठाई गुप्ताले सब इञ्जिनियर विवेक साह, कार्यालय सहयोगी दिनेश कुमार गुप्ता, सहायक चौथोमा आइते राम र अमिन अजयकुमार मण्डललाई ज्यालादारीमा राखेका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत रेणु साह सरुवा भएर जाँदा नै उनिहरुको म्याद सकिएको थियो ।
कानुनले गर्न नमिल्ने काम नगर्दा यसअघि पनि गुप्ताले कार्यकक्षमा बोलाएर धम्काएको घिमिरेले बताउनु भयो । घटना लगत्तै नगरप्रमुख गुप्ता पालिकाबाट बाहिरिएका छन् भने कर्मचारी र नगरवासी छलफल गर्दै घटनाको भत्सर्ना गरेका छन् । नगर प्रमुख गुप्ताले हातपात गरेको अस्विकार गर्दै नगरपालिकामा थुप्रिएका कामहरु चाँडै सक्न प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा बोलाइ ध्यानाकर्षण गराएको बताउनु भयो ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय कार्यसमितिले गुप्ताको वचाउ गर्दै पुस २३ गते विज्ञप्ति निकालेको छ । क्षेत्रीय सभापति समेत रहेका गुप्ताले हात समातेर बस्न अनुरोध गर्दा हातपात गरेको लाञ्छना लगाइएको क्षेत्रीय सचिव दुर्गा भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुखले हातपात गर्ने कुरा कल्पनै गर्न नसकिने भन्दै विज्ञप्तिमा बदनाम गराउन कुचेष्टा गर्नेले कमजोर र सुतेको नठान्न भनिएको छ ।