INSEC Online

📅 २०८३ जेष्ठ २१

निकुञ्जबाट आएका वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउँदा किसान मर्कामा

नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दाले लगाएको बालीनाली जंगली जनवारले खाएर क्षति पुर्‍याउन थालेपछि यहाँका स्थानीय मर्कामा परेका छन् ।

गैँडा, मृग, बँदेल लगायतका जनावर बस्तीमा प्रवेश गर्न थालेसँगै यहाँका स्थानीयलाई आफूले लगाएको बालीनाली जोगाउनै मुस्किल परेको छ ।

वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्‍याउनुका साथै मानवीय क्षतिसमेत पुर्‍याउन थालेसँगै समस्या जटिल बनेको कावासोती– १० की सीता पङ्गेनीले बताउनुभयो । दैनिकजसो खेतमा गैँडा आएर खेतमा लगाएको तोरी, मकै र तरकारी सबै सखाप पारेको उहाँले बताउनुभयो । उहाँले पाँच कठ्ठामा लगाएको बालीनाली  केही खाएर केही माडेर सखाप पारेको बताउनुभयो ।

मध्यविन्दु निवासी खिमादेवी उपाध्यायले सात कठ्ठा बारीमा लगाउनुभएको मकै पनि केही दिनअघि बँदेलले नष्ट गरिदिएको छ । सकी नसकी लगानी गरेर हुर्काएको बालीनाली स्याहार्ने बेलामा बर्सेनि जंगली जनवारले खाएर सखाप पारिदिदा मर्कामा परेको उपाध्यायले बताउनुभयो । निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाई छ ।

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पुर्‍याएकाे स्थानीय टीका सापकोटाले बताउनुभयो । “दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ”, उहाँले भन्नुभयो, “दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन ।” बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताउनुभयो ।

देवचुलीका ढुण्डीराज केसीले निकुञ्जबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका कतिपयले खेतबारी नै बाँझै छाड्न थालेको गुनासो गर्नुभयो । ‘दुःख गरेर खेति लगायो फसल तयार भएपछि गैंडा, बदेल, मृग आएर सखाप पारिदिन्छ धपाउन जान ज्यानको जोखिम हुन्छ । त्यसैले खेतबारी नै बाँझो छाड्नु बेस भनेर खेति नै गर्न छाडेका छन् । ’  केसीले भन्नुभयो ।

नवलपुरको गैडाकोटदेखि त्रिवेणीसम्म नारायणी नदीको तटीय क्षेत्र आसपास मध्यवर्ती क्षेत्रमा यो समस्या वर्षेनी हुने गर्छ । वन्यजन्तुले खासगरी हिउँदे बालीमा नोक्सान पुर्‍याउने गर्दछ । गहुँ तोरी, मकै, आलु, तरकारी  लगायतका बाली खाएर र माडेर क्षति पुर्‍याउने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । क्षतिपुर्ति बापत निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको  तिवारीले जानकारी दिनुभयो ।

बँदेल, हात्ती, गैँडा, बाघ सहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको उहाँले बताउनुभयो । राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरूको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको उहाँको भनाई छ ।

तर नवलपुरबाट चितवनको कसरा पुगेर प्रकृया पुरा गरेर राहत लिन निकै झन्झटिलो रहेको पीडित किसानहरूको भनाई छ । किसानले पाउने राहत लिनका लागि राहतभन्दा बढि खर्च हुने अवस्था यहाँ रहेको कावासोती– ११ का  वडा अध्यक्ष समेत रहनुभएका शारदा प्रसाद अधिकारीले बताउनुभयो । एक वर्षमा बढिमा १० हजार रुपियाँसम्म मात्रै राहत पाइने तर नोक्सान त्यो भन्दा बढि  हुने हुँदा र राहत लिनकै लागि प्रकृया निकै झन्झटिलो रहेको अधिकारीको गुनासो छ । स्थानीय सरकार मार्फत एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति ल्याउन जरुरी रहेको उहाँको भनाई छ ।

अन्य

भिडियो