गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ ।
भदौ ४ गते साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको उल्लेख गरेको राससले जनाएको छ । त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८ सय १२ घरमा पूर्ण र १ लाख ४४ हजार ४ सय ४४ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लामा हालसम्म ५३ हजार ४ सय ५५ थान त्रिपाल, २ हजार ६ सय ४९ थान कम्बल, ३ हजार २ सय ३२ थान मेट्रेस, २ हजार ६ सय ४५ थान झुल, ७ हजार ३ सय १५ सेट भाँडाकुँडा र १ लाख ४२ हजार ४ सय ९३ क्विन्टल चामल वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरो र डुबानबाट मृत्यु भएका परिवार वा आफन्तलाई मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम प्रतिमृतक रु २ लाख राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ । प्रकोपपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्डबमोजिम घर पूर्ण वा आंशिक रुपमा क्षति भएका परिवारलाई मापदण्डबमोजिमको राहत वितरण भइरहेको छ ।