INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

लेटाङ नगरपालिका-८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या कसुरमा जिल्ला अदालतले लेटाङ नगरपालिका-८ का ६३ वर्षीय दीपक गिरीलाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश रेशराज शर्माको ०८० पुस १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद र पीडितले पाउने गरी ७ लाख रुपियाँ कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी ओम सुवेदीले बताउनु भयो ।

लेटाङ नगरपालिका-८ स्थित जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका  ०७८ फागुन ११ गते विद्यालय विदा भएपछि घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् ।

बालिकाको शव लेटाङ नगरपालिका-८ स्थित लालहिरा सामुदायिक वन क्षेत्रमा खोल्सोमा फागुन १३ गते फेला परेको थियो ।

आरोपितले फागुन १३ गते लेटाङ नगरपालिका-८ मा घर नजिक कपडा जलाएको र कपडा जलाएको ठाउँमा विद्यालय पोसाकको बेल्टको टाउको र जुत्ताको तुना फेला परेपछि आरोपितलाई प्रहरीले  फागुन १३ गते घरबाटै गिरफ्तार गरेको थियो ।

छोरी हराएको विषयमा फागुन ११ गते इलाका प्रहरी कार्यालय लेटाङमा बालिका ४२ वर्षीय बाबुले उजुरी दिएका थिए ।आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा चैत ६ गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश जेतबहादुर खड्काको ०७८ चैत ७ गतेको आदेशमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

शवको पोष्टमार्टम फागुन १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पीडित पक्षले सोही दिन शव बुझी लेटाङ-८ मा सद्गत गरेको थियो ।

अन्य

भिडियो