पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे बिश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीलाई पुस १४ गते गिरफ्तार गरेको छ ।
स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले पुस १२ गते सामाजिक सञ्जाल फेसबुक र मोवाइल फोनमा वडाअध्यक्ष बिश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुस १३ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरबाटै गिरफ्तार गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो ।
पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कसुर सजाय ऐन २०६८ र संसोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।
नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।