१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर सन्दिप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको ०८० पुस १३ गतेको इजलासले सन्दिप लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ बलात्कार गरेको देखिएको भन्दै लामिछानेलाई दोषी ठहर गरेको हो ।
लामिछानेमाथि लागेको आरोप
पीडितलाई ०७९ भदौ ५ गते राति काठमाडौँको पिङ्लास्थानस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २१ गते प्रहरी वृत्त, गौशालामा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ २१ गते थापाथलीस्थित प्रसुति गृहमा भएको थियो । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ०७९ कात्तिक १४ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएकोमा उच्च अदालत पाटनले ०७९ पुस १८ गते सुनुवाई गर्दै विदेश जान नपाउने, काठमाडौँ उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नु पर्ने, पीडितसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने लगायत शर्त राखेर २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालतको उक्त आदेश विरुद्ध चित्त नबुझेर महान्यायाधिवक्ताको कार्यालय र सन्दिप लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । दुवै पक्षको निवेदनमा ०७९ फागुन १५ गते सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिँदै मुद्दामा छिटो फैसला गर्न काठमाडौँ जिल्ला अदालतका नाममा आदेश दिएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज खनालको ०८० पुस १३ गतेको इजलासले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम दोषी ठहर गरेको हो । न्यायाधीश ढकालको इजलासले लामिछानेमाथि कैद सजाय, जरिबाना र क्षतिपुर्ति निर्धारणका लागि ०८० पुस २५ गते पेशी तोक्न आदेश दिएको छ ।