लमजुङका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना नहुँदा महिला सेवाग्राही तथा कर्मचारीहरुलाई समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाहेक जिल्लामा रहेका अन्य सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही तथा महिला कर्मचारीहरुलाई समस्या भएको हो ।
जिल्ला सदरमुकामका बढी घुईचो हुने मालपोत, अदालत, जिल्ला प्रहरी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, पर्यटन तथा उद्योग विकास कार्यालय, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, बेसीशहर नगरपालिका लगायतका दर्जन बढी कार्यालयहरुमा स्तनपान कक्ष रहेको छैन । स्तनपान कक्ष नहुदाँ बच्चालाई दुध खुवाउन समस्या भएको बेसीशहर नगरपालिका पन्जीकरण शाखामा नागरिकताका बनाउन आउनुभएकी लागि बेसीशहर नगरपालिका– ३ की कुसुम भुजेलले बताउनुभयो ।
कार्यकक्षमा स्तनपान गराउँदा होस या बाहिर बसेर स्तनपान गराउँदा महिलाहरुलाई सहज नहुने हुँदा सबै कार्यालयहरुमा स्तनपान तथा शिशुस्याहार कक्ष स्थापना हुनु सेवाग्राहीको माग छ । जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहारका लागि व्यवस्था नरहे पनि महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्ला प्रसाशन कार्यालयमा भने स्तनपान कक्ष सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो ।
नेपालको संविधानको धारा ३८ (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार र ३९ (२) ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको हक प्रदान गरेको भए पनि लमजुङका महिला र बालबालिकाले त्यसको सहज उपभोग गर्न पाएका छैनन् ।