लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध रहेको पाइए पनि ५१ प्रतिशत कृषकहरू आफैलाई वर्ष भरी खान नपुग्ने पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकको प्रदेशस्तरीय नतिजा अनुसार नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७ सय ८९ घरपरिवार मध्ये २२ लाख १८ हजार ४ सय १० घरपरिवार कृषक परिवार रहेको पाइएको हो ।
नेपाल भर ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा आवद्ध रहेका छन् । जुन कुल घर परिवारको ६२ प्रतिशत हो । कृषि गणना अनुसार लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९२ घरपरिवार मध्ये ४ लाख २६ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा कृषि कार्य गरेको तथ्याङ्क तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार रुपन्देही जिल्लामा १ लाख १७ हजार ३ सय ३३ कृषक परिवारले ६५ हजार ५ सय ५५ हेक्टर जग्गामा कृषिकार्य गरिरहेको तथ्याङ्क छ । जुन जिल्लाको कुल परिवारको ४९.२ प्रतिशत हो । यस्तै लुम्बिनी प्रदेशमा मुख्य कृषक पुरुष ६४.५ प्रतिशत रहेका छन् भने महिला ३५.५ प्रतिशत रहेका छन् । रुपन्देहीमा कृषिमा आवद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
हाल नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४.५ प्रतिशत रहेकामा लुम्बिनी प्रदेशमा ५६.७ प्रतिशत र रुपन्देहीमा ८५.१ प्रतिशत क्षेत्रफल रहेको पाइएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवारको संख्या भने बढेको देखिएको छ । ३३ लाख ५३ हजार ८ सय ६७ पशुपालन गर्ने कृषकको संख्या बढेर अहिले ३४ लाख ५ हजार १४ पगेको छ । लुम्बिनी प्रदेशमा ६६.३ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कषि कार्य रहेको पाइएको छ भने देशभर ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको स्रोत कृषि कार्य रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ५१ प्रतिशत कृषक आफैलाई वर्ष भरि खान नै पुग्दैन् ।
लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरू मध्ये ५१ प्रतिशत घरपरिवारलाई वर्षभरि खान पुग्दैन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कृषि पेश गर्ने मध्ये ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ ।
कृषि गणना २०६८ मा कृषिमा आवद्ध भएका मध्ये ४० प्रतिशतलाई मात्रै वर्ष भरि खान पुग्ने तथ्याङ्क सार्वजनिक भएको थियो । यस्तै रुपन्देहीमा कृषि पेशामा आवद्ध भएका मध्ये ६८.१ प्रतिशतलाई मात्रै वर्ष भरी खान पुग्छ भने बाँकी ३१.९ प्रतिशत कृषक परिवारलाई आफैलाई वर्षभरी खान पुग्दैन् ।
कृषि उत्पादन हुने जग्गाको क्षेत्रफल पहिला भन्दा यस पटक घटेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार लुम्बिनी प्रदेशमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २०७८ मा भने घटेर १२ लाख १६.४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
यस्तै ६ लाख ७३ हजार ७०० हेक्टर क्षेत्रफलमा मकै, ७ लाख ४९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ र ८४ हजार ४०० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने जनाएको छ । जबकी कृषि गणना २०६८ का अनुसार ५ लाख ५९ हजार ९ सय हेक्टरमा मकै, ७ लाख ४९ हजार ४ सय हेक्टरमा गहुँ र १ लाख ७ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने राष्ट्रिय तथ्याङक कार्यालयले जनाएको छ ।
वि.स.२०१८ सालदेखि हरेक दश दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभागले २०७८ चैत १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।
तीनै तहका सरकारहरुलाई चाहिने शिक्षा सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार “मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयता पछिको पहिलो कृषिगणना भएको हो । विगतका शिक्षा गणनाहरूमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कपि तभ्याइ सङ्कलन गरी प्रकाशन गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डिल्लीराम जोशिले बताउनुभयो ।
उहाँका अनुसार बैज्ञानिक विधिवाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरु छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलनका लागि पांच हजार एक सय ५० गणक, एक हजार तीन सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरु सहित करिब ७ हजार २ सय कर्मचारी प्रत्यक्षरुपमा परिचालित भएका थिए ।
तथ्याङ्क सङ्कलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिएको थियो भने काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा कम्प्युटर–असिस्टेड व्यक्तिगत साक्षात्कार प्रविधिमा आधारित ट्याब्लेटको प्रयोग गरी तथ्यांक सङ्कलन गरिएको उपप्रमुख जोशिले बताउनु भयो ।