चिसोले भूकम्प प्रभावित कुशे गाँउपालिका–९ घर्तिगाँउकी २४ वर्षीया कल्पना नेपालीको पुस ११ गते मृत्यु भएको छ ।
सुत्केरी महिलाले मङ्सिर १७ गते दुई छोराको जन्म दिएकीे कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । गएको कात्तिक १७ गते आएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनि बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुदाँ, पोषिलो खानेकुरा नपाउदाँ समस्या रहेको थियो । चिसोले बिरामी परेपछि उपचारको लागि पैक स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
सरकारले अस्थायी आवासका लागि घोषणा गरेको ५० हजार रुपियाँ मध्य पहिलो किस्ता २५ हजार पाउन नसकेपछि नागरिकहरु त्रिपालमुनि बस्न बाध्य भएका छन् । न्यानो आवास नपाउदाँ सुत्केरी गर्भवती महिला, बालबालिका विचल्लीमा परेका छन् । सरकारले अस्थायी आवासको व्यवस्था नगर्दा गर्भवती सुत्केरीले अकालमा ज्यान जाने गरेको छ ।
कुशे गाँउपालिका–९ का दिर्घजंग सिहले भूकम्पले घरमा क्षति पुगेपछि चिसो मौसमा बास नपाएका सुत्केरी गर्भवती महिला, बालबालिका, दिर्घरोगीको स्वास्थ्य प्रति सरकारले ध्यान नदिदाँ चिसो समयमा त्रिपालमुनि न्यानो नपाएर मृत्यु हुने गरेको छ । सरकारले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि छिटो छरितो अस्थायी आवास निर्माण गरी त्रिपालबाट सार्नु पर्ने बताउनु भयो ।
भूकम्पले घरबारविहिन भएका सुत्केरी गर्भवती महिला, दिर्घरोगी बालबालिका गरी ३० जनाको ज्यान गइसकेको छ । त्रिपालमुनिको बसाईका कारण अधिकाँश स्थानमा नागरिकहरु बिरामी पर्न थालेका छन् ।