१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-६, तीनपिप्लेस्थित जोरपाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र सोही विद्यालयका शिक्षक माच्छेनारायण श्रेष्ठलाई प्रहरीले ०८० पुस ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले कात्तिक ११ गते बनेपाको एक होटल लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ८ गते धुलिखेल अस्पतालमा भयो । यसअघि आरोपितहरूले पीडितलाई पटक पटक यौन दुर्व्यवहार गरेको र आरोपितलाई गिरफ्तार गर्न ढिलाई गरेको भन्दै विद्यालयका विद्यार्थीहरूले पुस ८ गते विद्यालय अगाडि प्रदर्शन गरेका थिए ।