INSEC Online

📅 २०८३ जेष्ठ २१

छबिसपाथिभेरा गाउँपालिकाको कुम्डाबस्तीमा पिउने पानीको अभाव, स्थानीयलाई सास्ती

छबिसपाथिभेरा गाउँपालिका–३ कुम्डाबस्तीमा पिउने पानीको अभाव भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । ३६ घरधुरी भएको कुम्डाबस्तीका नागरिकले वर्षौदेखि पिउने पानीको चरम समस्या झेलिरहेका छन् ।

पाईपबाट मात्रै सानो पानी आउने गरेका कारण कुम्डा गाउँबाट एक घण्टाको दुरीमा रहेको  छविसपाथिभेरा गाउँपालिका–५ स्थित थलारापचाडाबाट पिउने पानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सचिन बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ पानीको समस्या समाधान गर्न भनेर यसगाउँमा अहिलेसम्म कुनै पनि सरोकारवाला पक्ष पुग्नभएको छैन् । पानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना र सोच कसैको नहुँदा वर्सेनि पिउने पानीको समस्या विकराल बन्दै गएको छ । एक घण्टा पैदल हिडेर पानी बोक्नु पर्छ । पानीको अभावले शौचालय सरसफाई, लुगाधुन र पशुपालन गर्न समस्या भएको छ । पानी नभएकै कारण खेतीपाती समेत उत्पादन गर्न सकिएको छैन् । भोकभारीको समेत समस्या झेल्नुपरेको छ ।’

सुख्खा क्षेत्र भएको कारण कुम्डागाउँमा वर्षौदेखि  पिउने पानीको चरम अभाव चुलिएको स्थानीय सरिता बोहराले दुखेसो पोख्नु भयो । बाह्रै महिना पिउने पानीको जोहो गर्न घण्टौँ लाग्ने र पिउने पानी बोक्दैमा दिन बित्ने गरेको उहाँको भनाइ छ ।

कुम्डाबस्ती भन्दा माथि पानीको मुहान नहुँदा यहाँका नागरिकलाई पिउने पानीको समस्या भएको वडाध्यक्ष श्यामबहादुर सिंहले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यो वर्ष प्रशासनिक खर्च बाहेक वडामा रकम आएन । आएको सबै रकम सडक निर्माणमा खर्च गरेका छौँ । आगामी वर्ष पिउने पानी आयोजना निर्माणको लागि बजेटच विनियोजन गरेर काम सुरु गछौँ ।’

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी तथा सरसफाइमा पहुँचको हक हुने स्पष्ट व्यवस्था गरिएको भए पनि कुम्डाबासीहरुले वर्षौदेखि पिउने पानी समेत पाउन सकेका छैनन् ।

अन्य

भिडियो