INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साविक राम्चे गाविस-५ हाल बाह्रबिसे नगरपालिका-५ की शर्मिला तमाङले सशस्त्र द्वन्द्वको समयमा चौतारा जेलबाट बेपत्ता बनाएको आफ्नो भाइ दुर्गाबहादुर तामाङको अवस्था सार्वजनिक गरी न्यायका लागि पहल गरिदिन ०८० पुस ८ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ ।

२७ वर्षीय दुर्गाबहादुर तामाङलाई ०६० पुस २१ गते तत्कालीन समयका सेनाले चौतारा जेलबाट बेपत्ता बनाएका थिए । पीडित तामाङ सहित पाँच जनालाई ०५९ फागुन १४ गते पिस्करबाट माओवादीको आरोपमा सुरक्षाफौजले गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका व्यक्तिहरूलाई चौतारा जेलमा नजरबन्दमा राखिएको थियो ।

‘बेपत्ता छोरा आउँछ भन्ने आशै आशामा आमा डिलमायाँको छोराको पिरले ०७८ वैशाखमा मृत्यु भयो । आमाले छोरा देख्न र भेट्न पाउनु भएन । त्यसैगरी छोराको खोजिका लागि बुबा सोमबहादुर तामाङ धेरै ठाउँमा पुग्नुभयो । बुबाले पनि छोरा भेट्न र देख्न नपाएरै ०८० असारमा परलोक हुनुभयो’, बेपत्ता पारिएका दुर्गाबहादुर तामाङको दिदि शर्मिलाले दुःख पोख्दै भन्नुभयो ।

बेपत्ता दुर्गाबहादुर तमाङको घरमा पत्नी र एक छोरी थिइन् । सरकारले दुर्गाबहादुरलाई बेपत्ता बनाएपछि पत्नी समिता छोरी लिएर अन्यत्र विवाह गरेर जानुभयो । हाल छोरीसँग पनि सम्पर्क विच्छेद भएको शर्मिलाको भनाई छ ।

भाइ दुर्गाबहादुरलाई बेपत्ता बनाएपछि बुबा आमाको मृत्युभयो । भाइको पत्नी छोरी लिएर अन्यत्र विवाह गरी गएपछि हाल आफू एक्लैले घर धानेर बस्नुपरेको शर्मिलाले बताउनु भयो । बेपत्ता भाइको अवस्था सार्वजनिक गर्न माग गर्दै ०७३ चैतमा बेपत्ता आयोगमा उजुरी दिएको तर हालसम्म अवस्था बारे अत्तोपत्तो केही खबर नपाएको शर्मिलाले बताउनु भयो ।

खोजिका लागि बेपत्ता आयोगमा मात्र होइन राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला शान्ति समिति लगायत धेरै ठाउँमा बेपत्ता आफन्तको स्थिति पत्ता लगाइदिन निवेदन दिए पनि हालसम्म बेपत्ता आफन्तको अवस्था पत्ता नलागेको इन्सेक जिल्ला प्रतिनिधिसँगको कुराकानीमा शर्मिलाले बताउनु भयो ।

Photo_080-9-9_Sindhupalchok

अन्य

भिडियो