स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने अनुमान गरेको राससले जनाएको छ ।
विभागले साउन ३२ गते पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा महामारी फैलिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।
उनले भने- “अहिले बाढीको अवस्था हो । महामारी फैलिसकेको छैन । तर, फैलनसक्ने सम्भावना उच्च भएकाले यो समयमा शुद्ध पानी र स्वस्थ खाना खानु नै बच्न सकिने एक मात्र उपाय हो ।” मन्त्रालयले गत आइतबार नै बाढी प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाई सकेको छ । विराटनगर, जनकपुर, रौटहट, सप्तरी र नेपालगन्जमा खटिएका टोलीले वरपरका जिल्ला पनि हेर्ने बताइएको छ ।
सबै स्थानमा औषधि र चिकित्सक पुगिसकेको र कुनै स्थानमा विद्युत् अवरुद्ध भएकाले सम्पर्क हुन गाह्रो परिरहेको विभागले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, कमलपित्त, टाइफाइड, हेपाटाइटिस र सर्पदंशलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिए ।
प्रभावित जिल्लाका अस्पतालले ७ दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको मन्त्रालयले जनाएको छ । निर्देशक आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखी पानी उमालेर, शुद्धीकरण गरी पिउन आग्रह गरे ।
महोत्तरीको मुसहर बस्तीमा ३७ व्यक्ति झाडापखालाबाट प्रभावित भएको र झापाका केही बाढीपीडितमा झाडापखालाको प्रकोप देखिएको अपुष्ट खबर आएको उनले बताए । पानी शुद्धीकरण गरी पिउनका लागि प्रभावित जिल्लामा पियुष, क्लोरिन झोल वितरण गरिएको निर्देशक आचार्यले बताए ।
मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१-४१००१८७, ०१-४२६२२६८ र मोबाइल नं ९८५१०९६०८९ मा सम्पर्क गरी सहयोग समन्वय गर्न पनि सबैमा आग्रह गरेको छ ।