जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८० पुस ४ गतेदेखि लागु हुने गरी राजधानीका मुख्य पाँच ओटा स्थललाई दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतले पुस ४ गते सूचना जारी गर्दै राष्ट्रपति कार्यालय, शीतल निवासदेखि प्रधानमन्त्री निवास, बालुवाटार, सङ्घीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा अतिविशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा अतिविशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा भेला जम्मा भएर अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू गर्दा शान्ति सुरक्षा भङ्ग हुन सक्ने भएकाले यस्तो निर्णय लिइएको उल्लेख छ ।