चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले साउन ३१ गते अनसन स्थगित गरेका राससले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा साउन ३१ गते साँझ ८ बजे पत्रकार सम्मेलन गर्दै उनले तराईमा गएको बाढी र पहिरोले जनधनको क्षति भइरहेका समयमा अनसन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताए ।
उनले भने-‘चिकित्सा शिक्षा र जनमुखी स्वास्थ्य सेवाका लागि मेरो सत्याग्रह जारी छ । अहिले तराईमा आइपरेको प्राकृतिक प्रकोपमा सबै सहयोगमा जुट्नुपर्ने भएकाले अनसनमा बस्न उचित नभएकाले तराईको स्थिति सामान्य नहुञ्जेलसम्म आन्दोलनको स्वरूप परिवर्तन मात्र गरिएको हो ।’
सरकारले केही माग पूरा गरेपनि माथेमा प्रतिवेदन र अन्य सुझाव समेटेर सही रूपमा चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने काम बाँकी रहेकाले लडाईं जारी रहने उनको भनाई छ ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकाले साँझ नै शिक्षण अस्पतालको सघन कक्षमा राखी उपचार सुरू गरिएको जनाइएको छ ।