गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई र मधेशका जिल्लामा हालैको बाढीले १ सय ११ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई २ लाख रिपयाँ र घर मर्मत गर्न १० हजार रुपियाँ वितरणसमेत सुरु भएको जानकारी दिँदै बाढीपीडितलाई साउन ३२ गतेसम्म व्यवस्थापन गरिसकिने बताए ।
मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको जानकारी दिए ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार लगातार चार दिन परेको वर्षापछि आएको बाढीमा परेर दाङमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । साउन ३१ गते थप दुई जनाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।
साउन २९ गते क्वाङखोलाले बगाएर हराएका तुलसीपुर उपमहानगरपालिका-११ का मेघबहादुर खत्रीको शव साउन ३१ गते बबई नदी अन्तर्गत दङ्गीशरण गाउँपालिका-६ को थापागाउँ नर्सरीमा भेटिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।
यसैगरी तुलसीपुर उपमनपा-११ स्थित बबई नदी किनारमा साउन ३१ गते नै एक पुरुषको बेवारिसे शव फेला परेको छ । कालो पाइन्ट, हाफ सर्ट, स्टकोट र चप्पल लगाएका पुरुषको शवलाई प्रहरीले अञ्चल अस्पताल तुलसीपुरमा ल्याएको छ ।
यस अघि तुलसीपुर उपमहानगरपालिका-१३ सिमगैरीका ४८ वर्षीया भगवती सुनारलाई तुईखोलाले बगाउँदा मृत्यु भएको थियो भने तुलसीपुर उपमहानगरपालिका-४ का ५८ वर्षीय नरबहादुर रावतको बेतनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो ।
यसैगरी खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा घोराही उपमहानगरपालिका-१२ पेदागाउँकी ३३ वर्षीया निर्मला बाठामगरको मृत्यु भएको थियो ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार अविरल वर्षासँगै गाउँमा पसेको बाढीको भेलमा बगेर महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । साउन २९ गते साँझ जलेश्वर नपा-८ बज्राहीमा बाढीले बगाउँदा धनुषाका ६५ वर्षीय शिव महराको मृत्यु भएको छ ।
त्यस्तै माछा मार्ने क्रममा साउन ३० गते लोहारपट्टी-१ का ३५ वर्षीय इन्दल महराको बाढीले बगाउँदा मृत्यु भएको छ । साउन २९ गते पानी खान चापाकलमा पुगेका जलेश्वर नपा-२ खैरचोकका १५ वर्षीय विक्की ठाकुरलाई बाढीको भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कठायतले बताए ।
महोत्तरीको बाढी प्रभावित क्षेत्रका बासिन्दा महामारीको जोखिममा
महोत्तरी जिल्लामा विगत ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् ।
जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर, लोहारपटि, मेघनाथ गोरहन्ना, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरि, बथनाहा लगायतका ग्रामीण तथा बजार क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउने रोगको प्रकोप फैलिएको स्थानीयबासीले बताएका छन् ।
विभिन्न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवम् चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेको स्थानीय श्याम गिरीले गुनासो गरे । आफू उपचार गराउन जाँदा कुनै चिकित्सक फेला नपरेको उनले बताए ।
इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार अविरल वर्षका कारण आएको बाढीले बगाएर पर्सा जिल्लामा पाँच जनाको मृत्यु भएको छ । भारतको बेतियबाट आफन्तलाई भेटन पर्साको पकाहा मैनपुरमा आएका ५० वर्षीय रास्वरुप माझीको बाढीले बगाएर मृत्य भएको पर्सा प्रहरीले जनाएको छ ।
त्यसैगरी भारतीय नागरिक ४२ वर्षीया नुरा खातुनको पर्साको जगन्नाथपुर दशौतामा बाढीले बगाउँदा मृत्यु भएको छ । जगन्नाथपुर-१ का ५५ वर्षीय बुन्नी महतो, जगन्नाथपुर-५ मसिहानीका ५५ वर्षीय बासुदेव हजरा र नाम थर वतन नखुलेका अन्य एक जनाको बाढीका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।
इन्सेक सर्लाही जिल्ला प्रतिनिधि सन्तोष सिंहका अनुसार बागमती खोलाले बगाएर हरिवन नगरपालिका-८ स्कुल टोलका ८५ वर्षीय हरिबहादुर सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस अघि वर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका-१ मानपुरका ७५ वर्षीया किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । सोती खोलाले बगाएर बरहथवा नगरपालिका-१० सीतापुरमा १७ वर्षीय राकेशकुमार साहको मृत्यु भएको छ । बरहथवा-१६ मुर्तियाका ३० वर्षीय युवराज परियारको शव साउन ३० गते बिहान मृत अवस्थामा फेला परेको छ ।
कविलासी गाउँपालिका-४ का बाल्मिकी रायका सात वर्षीय छोरा धिरज रायको पानीमा डुबेर साउन ३० गते मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीपुर सुखचैना-९ का रामजी राउतका छोरा १६ वर्षीय रितेश राउत ढङ्ग्रा खोलामा आएको बाढीले बगाउँदा साउन २९ गते साँझ देखि बेपता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि विपीन गौतमका अनुसार अविरल वर्षाका कारण रौतहट जिल्लामा हालसम्म १४ जनाको मृत्यु र तीन जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
साउन ३१ गते जिल्ला प्रशासन कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा बाढीका कारण १४ जनाको ज्यान गएको र तीन जना बेपत्ता भएको जनाएको हो । जिल्लाको ८० प्रतिशत भूभाग बाढीबाट प्रभावित रहेको, ६० हजार घर बाढीले नष्ट गरेको र ४ लाख जनसङ्ख्या बाढीबाट प्रभावित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाको हालसम्म सङ्कलित तथ्याङ्क अनुसार बाढीबाट ३ लाख जनसङ्ख्या घरबारविहीन भएका छन् । सरकारी तवरबाट हालसम्म रौतहटमा ५ सय थान त्रिपाल र ७ हजार ४ सय किलो चिउरा, दालमोठ वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।