राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा छलफल गरिएको थियो । मानव अधिकारकर्मीहरूको टोलीले साउन ३२ गते राप्ती पारीका बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्ने र प्राप्त तथ्यका आधारमा पहल गर्ने योजना रहेको आयोगका मानव अधिकार अधिकृत टङ्क खनालले बताए ।
गैससको नेतृत्वमा आवश्यकता अनुसार राहत सामग्रीका सङ्कलन गर्ने र जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत पीडितहरूलाई वितरण गर्ने गरी राहत सङ्कलन गरिरहेको खनालले बताए ।