बाढीबाट प्रभावित चितवनका पाँच स्थानमा साउन ३१ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर सञ्चालन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ्यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा राप्ती नगरपालिका, निजी अस्पताल समन्वय समितिको नेतृत्वमा माडी, कलेज अफ मेडिकल साइसेन्सको नेतृत्वमा खैरहनी र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मेघौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सो अवसरमा पशुसेवा, खानेपानी तथा सरसफाई डिभिजन, महिला विकासलगायत सरकारी कार्यालयले तत्कालको आवश्यकता पहिचान गरी सेवा दिएको थियो ।
बाढीग्रस्त क्षेत्रमा पशु चौपायासमेत मरेकाले महामारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखी प्रारम्भिक अवस्थामै जनचेतनासमेत जगाउने उद्धेश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बताए ।
गत शुक्रबारदेखि आएको बाढीले माडी, मेघौली, जगतपुर, पटिहानी, सौराहा, खैरहनी, भण्डारा, लोथरलगायत क्षेत्र प्रभावित भएको थियो ।