दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्राले नगरपालिकामा हाजिर हुन जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद उत्पन्न भई दुवै पक्षको झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षामा खटिएका प्रहरीले हवाई फायर गर्ने क्रममा मुखिया घाइते भएका थिए । गोली लागेर घाइते भएका मुखियाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । प्रहरीले झडपमा नियन्त्रणमा लिन अश्रु ग्याँससमेत प्रहार गरेका थिए ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढेको बा २ झ ४३५४ नम्बरको सुमोमा स्थानीयहरूद्वारा क्षति पुर्याउँदा भएको झडपलाई नियन्त्रणमा लिने क्रममा १० जना प्रहरी समेत घाइते भएका छन् ।
नगरपालिकामा नगर प्रमुख र सोही पालिकाका जनप्रतिनिधिहरू बीच विगत पाँच महिना भन्दा अगाडि देखि विवाद चल्दै आएको छ । तलवको माग गर्दै शिक्षक र स्वास्थ्यकर्मीहरूसमेत आन्दोलनरत छन् । केही दिन देखि विद्यालय र पाँच महिना देखि स्वास्थ्य संस्था समेत बन्दको अवस्थामा छ । स्थानीयहरू उपचारको लागि छिमेकी राष्ट्र भारतको बिहार घोडासहनमा उपचार गराउन बाध्य छन् । नगरपालिकामा अहिलेसम्म ताल्चा लागेको छ ।