चार दिनदेखिको अविरल वर्षातका कारण इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका साथै धनजनको क्षति पुर्याएको समाचार जिल्ला प्रतिनिधिहरूबाट प्राप्त भएको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ ।
धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार चार दिनदेखिको अविरल वर्षातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षाले धनुषाको पुर्वी र दक्षिणी क्षेत्र पुरै डुबानमा परेको छ भने जनकपुरको करिव ७५ प्रतिशत घरमा पानी पसेको जनाइएको छ । गाउँशहर जलमग्न भएको छ । भारी वर्षाले जनजीवन अस्तव्यस्त तथा कष्टकर बनेको छ । वर्षाको कारण साउन २९ गतेबाट विद्यालयहरू बन्द गरिएको छ । शहरी क्षेत्रमा पानी निकासको लागि व्यवस्थित नाला र गाँउघरमा कुलो नभएपछि शहर, गाउँ, हाट बजार र विद्यालयहरू जलमग्न भएका हुन् ।
गाउँका कच्ची सडक ठाउँठाउँमा बगाएका कारण सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जनाएको छ । अधिकांश खेत डुबानमा परेका छन् । डुबानले धानमा क्षति पुगेको किसानहरूले जनाएका छन् । लगातारको अविरल वर्षाले गरिब र दलित बस्तीका कच्ची घर भत्किएको जनाइएको छ ।
अविरल वर्षाले किरतपुर, परसाही, सवैला, पटेर्वा, ठिल्ला, भठिहन, माचि झिटकैया, टेर्हा, हरिने, हथमुण्डा, सिग्याही मडान, सघारा, लक्कड, कठाल, सरावेलगायत गाउँहरू डुबानमा परेका छन् । वर्षाले जनकपुरको मुसलमानटोल, मुसहर टोल, किशोरीनगर, आनन्दनगर, शान्तिनगर, हवाइअड्डा, जिल्ला प्रहरी कार्यालयलगायतका क्षेत्र डुबानमा परेका छन् भने भानु चोकदेखि शिवचोक र मिल्स एरियामा पानी जमेकोले आवतजावतमा कठिनाइ भएको छ ।
सडकमा दुई/तीन फिट पानी जमेकोले बाटोघाटोसमेत बन्द भएको छ । लगातार चार दिनदेखि परेको पानीले नगर प्रवेश गर्ने सडकहरू डुबानमा परेको र अधिकांश जनकपुरबासीको घरमा पानी पसेकोले जनजीवन अस्तव्यस्त भएको छ ।
जनकपुर अञ्चल अस्पताल जलमग्न
अविरल वर्षातका कारण जनकपुर अञ्चल अस्पतालको अकास्मिक कक्षमा एक फिट पानी जमेकोले बिरामीहरूको उपचारमा कठिनाइ भएको छ । अस्पताल परिसरमा पानी जमेकोले बिरामीको औषधि ल्याउन र कुरूवालाई कठिनाइ भएको हो ।
चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-३ स्थित बारबाङ खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय कमल भनिने समनबहादुर प्रजाको मृत्यु भएको हो । साउन २८ गते शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव साउन २९ गते बिहान फेला परेको चितवन प्रहरीले जनाएको छ ।
त्यसैगरी राप्ती नगरपालिका-८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयबासी अन्दाजी ४० वर्षीया महिलाको मत्यु भएको छ ।
यसैबिच पूर्वी चितवनका राप्ती-६ प्यारी ढापमा घर भत्कँदा ७४ वर्षीया फुलमती प्रजाको च्यापिएर मृत्यु भएको छ । फुसको घर भत्किएर च्याप्दा फुलमतीको घटनास्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हेलिकप्टरबाट बालबालिकाको उद्दार
राप्ती खोलामा आएको बाढीको डुबानमा परेका बालबालिकाहरूको उद्धार साउन २९ गते बेलुका सेनाको हेलिकप्टरबाट गरिएको छ । भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको आशा बालगृह डुबानमा परेपछि हेलिकप्टर मगाइ उनीहरूको तत्कालै उद्धार गरिएको हो ।
बालगृहमा रहेका २ सय ५० बालबालिकासहित ४ सय स्थानीबासीहरूलाई हेलिकप्टरबाट उद्धार गरी भरतपुरस्थित बाह्रघरेमा रहेको मुनलाइट स्कुलमा राखिएको छ ।
अस्पतालमा पानीको ताल, बिरामी र आफन्त समस्यामा
ढल निकास नहुँदा भरतपुर अस्पताल डुवानमा परेको छ । शुक्रबारदेखि परेको पानीका कारण भरतपुर अस्पतालमा पानी जमेको छ । जसको सिधा असर बिरामी र आफन्तलाई परेको छ । औषधि किन्न तथा खाना खान जान बिरामीका कुरूवालाई अप्ठेरो परेको छ ।
महानगरपालिकाले ढल नबनाएका कारण पानीको निकास नभएको अस्पतालले जनाएको छ । पानी जम्ने समस्या भएपनि निकासा गर्ने स्थान नभएकोले समस्या भएको मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीले बताए ।
अस्पतालको सतह सडक भन्दा होचो छ । सडकमा ढल नभएपछि सडकको पानी समेत अस्पतालमा जम्मा हुने गरेको छ । अस्पताल विकास समितिले आन्तरिक रूपमा ढल बनाएपनि त्यसलाई निकासा गर्ने ठाउँ नभएकोले समस्या भएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । आइतवार परेको पानीका कारण अस्पतालको ओपिडी भवन अगाडि जलमग्न भएको थियो । सामान्य वर्षातको समयमा पनि अस्पतालमा पानी जम्ने गरेको छ ।
बिरामी पर्न थाले बाढी पीडित
चितवन माडीका बाढी पीडितहरू बिरामी पर्न थालेका छन् । बाढी प्रभावित क्षेत्र रतनी धोवाहा-३ का वडा अध्यक्ष पूरन चौधरीले यस क्षेत्रका बासिन्दा बिरामी पर्न थालेको जानकारी दिए । उनले साउन ३१ गते स्वास्थ्य शिविरका लागि आग्रह गरिएको बताए । शुद्ध खानेपानी, खाद्यान्नको अभावमा महिला र बालबालिकाहरू बढी प्रभावित बनेको उनले जानकारी दिए । बिरामीहरूका लागि स्वास्थ्यको प्रबन्ध मिलाइएको माडी नगरपालिकाकी उपमेयर तारा महतोले बताइन् ।
पहिरोको कारण चेपाङ दम्पत्तीको मृत्यु
राप्ती नगरपालिका-१३ खानडाँडामा एक दम्पतीको पहिरोले बगाउँदा ज्यान गएको छ । पहाडको मोटरबाटो ६ घण्टा लगाएर यस स्थानमा पुग्न सकिन्छ । विकट गाउँमा गत शनिबार राति नै यस घटना भएपनि सोमबार मात्र यसबारे जानकारी आएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षका रणबहादुर चेपाङ र उनकी ४८ वर्षीया पत्नी मौरीमाया चेपाङ रहेका छन् । शनिबार बेलुका गाईगोठमा सुत्न भनी गएका उनीहरूलाई मकै केलाउँदै गर्दा माथिबाट आएको पहिरोले सोरेर लगेको वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिए । हालसम्म रणबहादुरको मात्र शव फेला परेको उनको भनाइ छ । उनका अनुसार पहाडमा पहिरोको कारण आधादर्जन घरमा क्षति पुगेको छ ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार सिंहका अनुसार अविरल वर्षासँगै गाउँमा पसेको बाढीको भेलमा बगेर महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । साउन २९ गते साँझ जलेश्वर-८ बज्राहीमा बाढीले बगाउँदा धनुषाका ६५ वर्षीय शिव महराको मृत्यु भएको छ । धनुषाबाट आफ्नी छोरीको घर जलेश्वर जाँदै गरेको बेला खोलाले बगाएर उनलाई बेपत्ता बनाएको थियो । उनको शव साउन ३० गते फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस्तै माछा मार्ने क्रममा साउन ३० गते लोहारपट्टी-१ का ३५ वर्षीय इन्दल महराको बाढीले बगाउँदा मृत्यु भएको छ ।
त्यस्तै साउन २९ गते पानी खान चापाकलमा पुगेको जलेश्वर-२ खैरचोकका १५ वर्षीय विक्की ठाकुरलाई बाढीको भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कठायतले बताए ।
यसैगरी बाढीले महोत्तरीको ७० प्रतिशत क्षेत्र डुबानमा परेको छ । डुबानमा परेर २ हजार बढी घर प्रभावित भएको छ । जनजीवन पूर्णरुपेण कष्टकर बनेको छ ।
पूर्व-पश्चिम रागमार्ग अन्तर्गत महोत्तरीको माइस्थानस्थित जङ्घा पुलको पश्चिम तिरको भाग भत्किएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए । ‘महोत्तरी र धनुषाबिचको रातु पुल भासिएका कारण यात्रुवाहक बस तथा साना सवारी साधन मात्र सञ्चालनमा छन् ।
जिल्ला अस्पताल जलेश्वरसहित महोत्तरीका १५ भन्दा बढी स्वास्थ्य संस्था डुबानमा परेके छन् । जिल्ला स्वास्थ्य कार्यालयको औषधि भण्डारण कक्षमा पानी पस्दा ४० लाख भन्दा बढीको औषधि नष्ट भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । उनका अनुसार पारासिटामोल, जीवनजल, आइरन ट्यावलेट जस्ता अहिलेको अवस्थामा अत्यिावश्यक औषधि डुबानमा परेको हो । प्राकृतिक प्रकोससँगै फैलिने झाडापखाला जस्ता महामारीमा चाहिने औषधिनै डुबानमा परेको छ । डुबान क्षेत्रमा खानेपानीको अभाव भएको छ ।
बाढीबाट जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर र लोहारपटी नगरपालिका अत्याधिक प्रभावित भएको छ । बाढीबाट करिब ८ सय जना विस्थापित भएका छन् । जसमध्ये मटिहानी नगरपालिका जरलहवा टोलका ५ सय जना छन् ।
२ सय घर पूर्णरूपमा भत्केको र ५ सय घरमा आँशिक क्षति पुगेको छ । जिल्लाका सबै विद्यालय बन्द गरिएको छ । विस्थापित परिवारलाई विभिन्न विद्यालयमा राखिएको छ ।
बाढीको पानी सदरमुकाम जलेश्वरमा प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय, कारागार, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, शिक्षा, पशु, कोष तथा लेखा नियन्त्रण कार्यालयसहित दुई दर्जन सरकारी कार्यालय डुवानमा परेका छन् ।
कारागारमा १० फिट पानी प्रवेश गरेपछि ५ सय २ जना कैदीबन्दीलाई कारागारको माथिल्लो तलामा सारिएको छ । टेलिफोन र इन्टरनेट पुरै बन्द छ । विद्युत र सञ्चार सेवा अबरूद्ध छ ।
भन्सार क्षेत्र मलिवारामा सशस्त्र प्रहरी राजस्व तथा भन्सार गुल्मको ब्यारेक डुबानमा परेको छ । यहाँका जवानलाई अहिले पशु क्वारेन्टाइन र जिल्ला भन्सार कार्यालयको ग्यारेजमा स्थानान्तरण गरेको छ । सदरमुकाम जलेश्वर जलमग्न छ ।
बाढीमा परेका नागरिकको उद्धारमा खटिएका महोत्तरी प्रहरीकै कार्यालय तथा क्वाटरहरू डुबानमा परेको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदालतलगायतका कार्यालय डुवानमा परेको हो ।
महोत्तरीका १० ओटा प्रहरी युनिट डुबानमा परेको छ । कार्यालयहरूमा ४ फिटसम्म पानी जमेको छ । सदमुकाम जलेश्वरलाई रातु खोलाको बाढीको पानीले चौतर्फी रूपमा घेरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए ।
बर्दिबास नपा-६ किसाननगरका स्थानीय बलराम कार्कीका अनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका-६ किसानगर स्थित ३ सय मिटर बाँध भत्काएको छ । बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए ।
बाढीको भेलले महोत्तरीका सडकहरू ठाउँठाउँमा बगाएका कारण प्रहरी उद्दारका लागि गाउँगाउँमा जान सकेका छैन । सडक अबरूद्ध हुँदा प्रहरीको एक युनिटबाट अर्को युनिट सम्मको यातायात सम्पर्क टुटेको छ ।
जलेश्वर कारागारका कैदीबन्दी तीन दिनदेखि भोकभोकै
जलेश्वर कारागारमा रहेका कैदीबन्दी तीन दिनदेखि भोकभोकै बस्न बाध्य भएका छन् । साउन २६ गते देखिको अविरल वर्षाको पानी कारागार परिसर मै साउन २८ र २९ गते करिव ५ फिट पानी पसेपछि कैदीहरू समस्यामा परेका हुन ।
साउन २६ गतेदेखि भइरहेको अबिरल वर्षाको पानी जलेश्वर कारागार परिसरमा साउन २८ र २९ गते करिव पाँच फिट पानी पसेपछि कैदी बन्दीहरू समस्यामा परेका छन् ।
१ सय ३५ कैदी राख्न सक्ने क्षमता रहेको जलेश्वर कारागारमा हाल ३ सय ८२ कैदीबन्दी रहेकोमा सो मध्ये ४० महिला र दुई जना आश्रति बालबालिका छन् ।
साउन २९ गते पानीको उच्च बहाव र कारागार परिसरमा नै मानिस डुबाउन सक्ने पानी हुँदा कैदी बन्दीहरूलाई शौचलय जान पनि समस्या भएको छ । हातेकल पानीमा डुवेपछि कैदीबन्दीहरू समेत विगत तीन दिनदेखि खाना तथा पानी बिना नै बस्नु परेको कैदीबन्दीले बताएका छन् ।
कैदीहरूको अवस्था बुझ्न कारागार पुगेका सञ्चारकर्मीहरूसँग विगत तीन दिनदेखि खाना र पानी नपाएर भोकै बसेपनि अझै कुनै निकायले सोधिखोजी नगरेको कैदीबन्दीले गुनासो गरेका छन् ।
कारागार कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मी सुत्ने कोठाहरू जलमग्न रहेपछि उनीहरूले पनि खान र बस्न समस्या भएको बताएका छन् ।
कारागार कार्यालयका प्रमुख शोभेन्द्र ठाकुरले कैदीबन्दीहरू बस्ने कोठा र कार्यालय कोठाहरूमा पानी पसेका कारण छतमा बस्न बाध्य भएको र शौच गर्नसमेत कठिनाइ भएकोले महामारी फैलिन सक्ने चिन्ता व्यक्त गरे ।
बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार साउन २६ गतेदेखि परेको अविरल पानी र बाढीले छुट्टाछुट्टै दुई कच्ची घर भत्किँदा साउन २८ गते दुई जनाको मत्यु भएको छ । पचरौता गाउँपालिकाको बलधुसवामा जमुनी नदीमा आएको बाढीले बृद्धाश्रममा बसेका आदर्श कोतवाल गाउँपालिका-९ का ७० वर्षीय ब्रहमदेव महतोको मृत्यु भएको हो ।
सोही दिन सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका रामविलास पासवानको घर भत्किँदा उनकी ४५ वर्षीया पत्नी गहनीदेवी पासवानको मृत्यु भएको छ । यसैगरी साउन २९ गते महागढीमाईस्थित पसाहा तथा भुतही खोलामा आएको बाढीमा डुबेर महागढीमाई नगरपालिका-१ का नुरैन मियाँका १२ वर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको छ । यी तिनै ओटा घटनामा सात जनालाई उद्धार गरिएको छ ।
अविरल वर्षाले जमुनी, तियर, थलही, दुधौरा, बङ्गरी, पसाहा, अडुवा, लालबकैयालगायतका खहरे खोलाबाट बाढी पसेर जिल्लाको अधिकांश ठाउँ डुबानमा परेपछि जनजीवन कष्टकर भएको छ । बाढीले क्षति पुर्याएपछि दैवीप्रकोप उद्धार समिति क्षतिको विवरण सङ्कलनमा जुट्दै समितिको तर्फाट उद्धार कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।
बाढी र भीषण वर्षाको पानीले थुनिएका सयौँ परिवार उद्धार तथा राहतको लागि गुहार गरिरहेका छन् । उद्धारमा खटिएका प्रहरीका एसपी राजकुमार वैद्यवारका अनुसार जिल्लाका २० हजार भन्दा बढी घरपरिवार राहतको प्रतिक्षामा छन् । घर भत्केको र बाढीले बगाएपछि सयौँ घरविहीन भएका छन् । बाढी पीडितहरू सार्वजनिक विद्यालयमा ओत लिएर बसिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी वीजयनारायण मनान्धरका अनुसार १ हजार ५ सय भन्दा बढी बाढी पीडितलाई राहत उपलब्ध गराइएको छ । उद्योग बाणिज्य सङ्घ, रेडक्रस, दलहरू तथा विभिन्ना सामाजिक सेवा प्रदायक सङ्घसंस्थाको समन्वयमा उद्धार र राहत दिने काम भइरहेको उनले बताए ।
उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार लगातारको वर्षापछि आएको बाढीले बगाउँदा उदयपुरमा साउन ३० गते एकै घरका दुई जनाको ज्यान गएको छ । जिल्लाको उत्तरी क्षेत्रको रौतामाई गाउँपालिकाबाट बग्ने हुल्मा खोलाले बगाउँदा वडा नं-६ हात्तिटारका ५२ वर्षीया कर्णमाया मग्राती मगर, उनका नाम नखुलेका ८ वर्षीया नातिको ज्यान गएको हो ।
मध्यान्न १२ः३० बजेको समयमा गाईबस्तु चराउन लैजाँदा हात्तिटार र रातमाटेको बिचमा पर्ने हुल्मा खोला तर्नेक्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए । उनीहरूको शव झण्डै ५ सय मिटर तल फेला परेको स्थानीयको भनाइ छ ।
वर्षाले जिल्लाका झण्डै ५ सय घरपरिवारमा क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क छ । लगातारको वर्षाले त्रियुगा, वरूवा, हुल्मा, बैद्यनाथ, तवा, बबिया, लुहाले, सुकना खोला र सप्तकोसीका तटिय बाँधहरू फुटदा खोला खहरेहरू गाउँ पसेका हुन् ।
५ सय घरपरिवार विस्थापित
लगातारको वर्षा पछि आएको बाढी पहिरोका कारण उदयपुरका करिव ५ सय घर परिवार विस्थापित भएका छन् । ७२ घण्टादेखिको लगातार वर्षाले घरखेत डुबानमा परेपछि सबैभन्दा बढी बेलका नगरपालिका र त्रियुगा नगरपालिकामा असर पुर्याएको हो ।
बेलकाको वडानं २ को भागलपुर, त्रियुगा नगरपालिकाको वडानं २ को खैजनपुर, ३ को मोतिगडा, हात्तीमारा र प्रभातटोल आसपासका क्षेत्रका स्थानीयबासी विस्थापित भएका हुन् । भागलपुरका करिव ३ सय घरपरिवार सप्तकोसीको भङ्गालोले डुबाएको छ भने खैजनपुरको ६५, मोतिगडाको ४५, हात्तिमारा र प्रभातटोलका ५० घरभन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ ।
खैजनपुरको वविया, लुहाले र सुकनाही खोलामा आएको बाढीले ६५ घरपरिवार र स्थानीयको १ सय ५० विगाहा खेतीयोग्य जमिन बालुवाले पुरेको र केही भाग कटान गर्दा ३ अर्व माथिको क्षति भएको वडा नं २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
विस्थापितहरूलाई सम्बन्धित नगरपालिका, स्थानीय प्रशासन र जिल्ला दैविप्रकोप उद्धार समितिले तत्काल उद्धार गरी विद्यालय, क्याम्पस र सार्वजानिक भवनहरूमा राखेको छ । विस्थापितहरू रातभर सार्वजनिक भवनमा ओत लागेर बसेका छन् । वर्षाले घरभरी पानी भरिएपछि भागलपुर, खैजनपुर, मोतिगडा, हात्तीमारा, लच्का र बसपार्क आसपासका स्थानीय विस्थापित हुनुपरेको हो ।
विस्थापित हुने क्रम जारी रहेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले आकस्मिक बैठक राखी विस्थापितहरूलाई सुरक्षित गरेर चामल, दाल र तरकारी तथा चाउचाउ र भुजाजस्ता खाद्यान्नको व्यवस्था मिलाइएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजङ कार्कीले बताए ।
टेलिफोन र एडिएसएल सेवा अवरूद्ध
निरन्तर वर्षाका कारण टेलिफोन र इन्टरनेट सेवा पनि अवरूद्ध भएको छ । वर्षाले क्षति पुगेपछि नेपाल टेलिकमबाट वितरित ल्याण्डलाईन (पिएसटिएन) टेलिफोन अवरूद्ध भएको र फोन चल्न छाडेको २४ घण्टापछि एडिएसएलले पनि काम गर्न छाडेको हो ।
आइतबार बिहानदेखि एडिएसएल चल्न छाडेपछि इन्टरनेट सेवा अवरूद्ध भएको छ । फोन नचले पनि चल्दै गरेको एडिएसएल सेवा लगातार ४ दिनसम्म वर्षा नरोकिएपछि चल्न छाडेकाले सूचना पाउनबाट जिल्लाबासी वञ्चित हुनु परेको छ । ४ दिनअघि अवरूद्ध भएको एनसेल मोवाईल पनि अझै सुचारू भएको छैन ।
ल्याण्डलाईन फोन र जिएसएम प्रिपेड फोन नचलेसँगै इन्टरनेट पनि चल्न छाडेपछि सूचना पाउन गाह्रो भएको स्थानीयले बताएका छन् ।
टेलिकम उदयपुरका प्रमुख धर्मेन्द्र यादवले इटहरीस्थित क्षेत्रीय कार्यालय र अञ्चल कार्यालय राजविराधको टावरमा वर्षाले क्षति गरेका कारण फोन र मोवाईल अवरूद्ध भएको बताए । उनले प्राविधिक टोली वर्षा बाढी नभनी मर्मतमा खटिरहेकाले चाँडै सेवा सुचारू गर्ने बताए ।
इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार साउन २९ गते बेलुका गएको पहिरोले घर पुरिएर माई नगरपालिका-८ चैतेका ९७ वर्षीय मदन मगरको मृत्यु भएको छ । वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि सुतिरहेका मगरका घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
२९ गते राति चुलाचुली गाउँपालिकास्थित कमल खोलामा आएको बाढीले चुलाचुली-१ का भीम लावतीको घर बगाएको छ । चुलाचुली-१ मा गएको पहिरोले स्थानीय सनमान सम्वाहम्फेको घर पुरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
स्थानीय मावा खोलामा आएको बाढीले चुलाचुली-६ का तीर्थबहादुर राई घाइते भएका छन् । खोलाले तीर्थबहादुरको घर बगाएको छ । मावाखोलाको बाढीका कारण रामकुमार राई, शान्ति राई, दिलबहादुर शेर्पा, नीरबहादुर राई, शान्तबहादुर लिम्बू दयावती राई र गोपाल राईका घरहरू जोखिममा परेका छन् ।