INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षाले तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण सर्लाहीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना बेपता भएका छन् । सर्लाहीमा बाग्मती खोलाले बगेर हरिवन नगरपालिका-८ स्कुल टोलका ८५ वर्षीय हरिबहादुर सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साँझ कर्मैयास्थित बागमती पुल नजिकै मृत फेला परेका सुवेदीको आज बिहान सनाखत भएको हो ।

यस अघि वर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका-१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घर भत्किएर किच्दा घरभित्र सुतिरहेका रायको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका- १० सीतापुरमा १७ वर्षीय राकेशकुमार शाहको ज्यान गएको छ । बागमती नदिमा मृत अवस्थामा एक वेवारिसे शव समेत फेला परेको छ ।

यता लखन्देही खोलाले बगाएर सर्लाहीको हरिपुरमा एक व्यक्ति बेपत्ता भएका छन् । हरिपुर नगरपालिका-८ कछडिया टोल बस्ने ५० वर्षीय भुकल कुँवरलाई खोलाले बगाएर बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय, हरिपुरले जनाएको छ । खोला किनारमा झुपडी बनाएर बस्दै आएका कुँवरलाई खोलामा आएको बाढीले झुपडीसहित बगाएको स्थानीयले बताए ।

सर्लाहीको सागरनाथ जंगल खण्ड स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने अमुवा पुल छेउको सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । १० फिट सडक बगाएका कारण आईतबार दिउँसो २ बजेदेखि पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो । यातायात अवरुद्ध भएसँगै सयौं सवारी साधन एवम् हजारौँ यात्रु जंगलबीचमा अलपत्र बनेका छन् ।

लगातारको वर्षाले सबैभन्दा बढी क्षति पुर्‍याएको सर्लाहीको छटौल, खुटौना, सक्रौल, खैर्बा, फूलपरासी लगायतका क्षेत्रमा उद्धार र कटान नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । चार दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको विभिन्न ठाउँमा सयौँ बिगाहा खेतीयोग्य जमिन बगाएको छ । जिल्लाको बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, चापिनी, बागमती जस्ता मुख्य र खहरे खोला तथा खोल्सीले खेतीयोग्य जमिन कटान गरेको किसानहरूले बताएका छन् ।

अन्य

भिडियो