INSEC Online

📅 २०८३ जेष्ठ २१

एट्वीनको साधारणसभाबाट नौ सदस्यीय कार्यसमिति चयन

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्वीन) को सातौँ अधिवेशन तथा १४ औँ साधारणसभा एवम् २० औँ वार्षिकोत्सव साउन २७ गते काठमाडौँमा सम्पन्न भएको छ ।

Photo20170811Ktm

एट्विनको सातौँ अधिवेशनले हिमराईटकी अञ्जना शाक्यको अध्यक्षतामा आगामी २ वर्षका लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा ग्रामीण महिला सृजनशील परिवार, सिन्धुपाल्चोककी नानी माया थापा, महासचिवमा इन्सेककी सम्झा श्रेष्ठ, सचिवमा शक्ति समूहकी बालकुमारी राना र कोषाध्यक्षमा डब्लु डिएकइटिसिकी शान्ता खनाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा चाइल्ड सोसाइटी नेपालकी सीता पौडेल, केआई नेपालका इन्द्रराम भट्टराई, विश्वास नेपालकी तारा भण्डारी र ओफोनकी छलिमाया मगर चयन भएको एट्वीनकी महासचिव सम्झा श्रेष्ठले जानकारी दिइन् ।

सो अवसरमा “बेचबिखनविरुद्ध एट्वीनको २० वर्ष नामक पुस्तकको विमोचन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारकाविरुद्ध कलङ्कको रूपमा रहेको मानव बेचबिखन जस्तो जघन्य अपराधलाई निर्मूल गर्न सबैको सहयोग चाहिने बताए ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानव बेचबिखनका आयामहरूका बारेमा उल्लेख गर्दै यो अपराध आन्तरिक विस्थापनको अवस्थामा समेत रहने गरेको उल्लेख गरे ।

सो अवसरमा मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरू र एट्वीनका संस्थापक संस्थाहरूलाई सम्मान गरी मायाको चिनो प्रदान गरिएको थियो । संस्थापक संस्थाका रूपमा अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) लाई पनि सम्मान तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बेचबिखनबाट प्रभावितहरूको अधिकारको क्षेत्रमा कार्यरत संस्था शक्ति समूहकी चरीमाया तामाङ, सुनिता दनुवार र एट्वीन अभियन्ता एवम् मेलम्ची नगरपालिका सिन्धुपाल्चोककी उपमेयर भगवती नेपाललाई अभिनन्दन गरिएको थियो ।

अन्य

भिडियो