विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम शिवालय गाउँपालिकामा पठाइएको हो ।
स्थानीय तहले विपद व्यवस्थापन समितिमा समयमै तथ्याङ्क सङ्कलन गरी नपठाउँदा शिवालय गाउँपालिकाले भूकम्प गएको एक महिनापछि क्षतिको विवरण पठाएपछि गाउँपालिकामा मङ्सिर १४ गते रकम पठाएको छ । ३ हजार ३ सय ९ जना घरपरिवारलाई पहिलो किस्ता रकम दिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनु भयो ।
निमित्त प्रमुख जिल्ला अधिकार शर्माका अनुसार प्रतिघर २५ हजारका दरले ८ करोड २७ लाख २५ हजार रुपियाँ पठाएको बताउनु भयो । शिवालय गाउँपालिकाले पुन क्षति भएका घरको पहिचान गरी रकम वितरण गरिने शिवालय गाँउपालिकाका निमित्त प्रशासकिय अधिकृत मानबहादुर बस्नेतले बताउनुभयो ।
वडाबाट आएको विवरण जिल्ला प्रशासनमा पठाएको बताउदै मङ्सिर १५ गते देखि प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो । वडाले सङ्कलन गरी प्रशासनमा पठाएको विवरणमा कसैका २ ओटा घर हुनसक्छन् कसैको सुचीमा नआउन सक्छ त्यसैले फेरी गाउँबस्तीमा कर्मचारी खटाएर वास्तविक पीडितलाई अनुदान दिने बताउनु भयो । रकम वितरणमा गर्न १ /२ दिन लाग्न सक्छ उहाँले भन्नु भयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अन्य स्थानीय तहबाट क्षतिको विवरण प्राप्त हुन नसकेको बताउनु भयो । क्षतिको विवरण प्राप्त भएपछि स्थानीय तहमा रकम पठाउने प्रशासनले जनाएको छ । सबै स्थानीय तहको विवरण केही दिनमा आउने शर्माले बताउनु भयो । ३४ हजार ४ सय ९७ ओटा घर भूकम्पले क्षति गरेको प्रारम्भिक विवरण छ भने त्यस मध्य ९ हजार ७ सय ९४ पूर्णक्षति र २४ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको छ ।


