लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले मङ्सिर १३ गते बिहानदेखि प्रदर्शन गरिरहेका छन् ।
मस्र्याङदी गाउँपालिका– ९ सिम्पानी पामचोक घर भएकी २६ वर्षीया शोभा विक सुत्केरी गराउन मङ्सिर ११ गते लमजुङ जिल्ला अस्पताल भर्ना भई शल्यक्रिया मार्फत मङ्सिर १२ गते मृत शिशु जन्मिएको थियो । सुत्केरी विकको रगत बग्न नरोकिएपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा मङ्सिर १२ गते साँझ चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तर मृतकका आफन्तले भने डाक्टरले गलत औषधि को प्रयोग गरेको कारणले आमा र बच्चाको ज्यान गएको भन्दै डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल अगाडि आफन्तजन एवं स्थानीयवासीले नारा जुलसको साथ प्रदर्शन गरिरहेका छन् ।
अस्पतालको सुरक्षालाई ध्यान राख्दै प्रशासनले ठूलो संख्यामा सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरेको छ । अहिले अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रमुख, मृतकको आफन्त लगायतको टोली वार्तामा बसेको छ ।
