मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश जारी गरेको छ ।
प्रसाईंको नेतृत्वमा भइरहेको आन्दोलनमा सहयोग पुर्याएको भन्दै खड्कासहितका पाँच जना प्रर्दशनकारीलाई मङ्सिर ८ गते गिरफ्तार गरेर प्रहरी वृत्त, सिंहदरवार र जिल्ला प्रहरी परिसरमा राखेपछि रिहाइको माग गर्दै मङ्सिर ११ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्धा दर्ता भएको थियो । सर्वोच्च अदालतले सोही मुद्धामा विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईंले मङ्सिर ७ गते बल्खुमा गरेको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले मङ्सिर ८ गते पशुपति खड्कालाई फुटुङबाट र आभाष खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, सन्तोष सिलवाल (राजावादी) लाई थापाथलीबाट गिरफ्तार गरेको थियो ।
गिरफ्तारीमा परेका मध्ये पशुपति खड्का, आभाष खड्का, सतिस न्यौपाने र गोकर्ण शाहीलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ भने सन्तोष सिलवाललाई जिल्ला प्रहरी परिसर, टेकुमा राखिएको छ । प्रहरीले गिरफ्तारीमा परेका पाँचै जना विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला अदालतबाट मङ्सिर १० गते पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।