नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तकोशी नगरपालिका–५ का ६८ वर्षीय रामप्रसाद बरहीलाई ०८० मङ्सिर ११ गते ३ वर्ष कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले बलात्कार मुद्दालाई यौन दुर्व्यवहारमा परिणत गर्दै आरोपितलाई कसुरदा ठहर गरी ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्ने सजाय गरेको हो । यसैगरी फैसला अनुसार आरोपितले ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने र १ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नु पर्ने भएको छ ।
आरोपितले २०७९ वैशाख १८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा वैशाख १९ गते उजुरी दिनुभएको थियो । सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोला छेउ धारमा दिउँसो दाउरा खोज्न गएका बेला पोखरी छेउ आरोपितको घरगोठमा लगेर बलात्कार गरेको बालिकाले बताउनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७९ वैशाख १९ गते भएको थियो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी ०७९ वैशाख २१ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७९ जेठ ११ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको आदेशमा आरोपित ०७९ जेठ १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।