INSEC Online

📅 २०८३ जेष्ठ २१

दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो गर्नुभएको छ ।

२०६५ सालमा स्थापना गरिएको दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा प्रभावकारी पठनपाठन सञ्चालन गर्न समस्या भएको हो । कक्षा ८ सम्म अध्ययपन गरिने  यस विद्यालयमा एक जना स्थायी दरबन्दी र एक जना राहत कोटामा कार्यरत शिक्षक  रहनुभएको भए पनि ६ जना शिक्षक नीजि स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको आर्थिक अबस्था कमजोर हुँदा नीजि स्रोतका शिक्षकको व्यवस्थापन विद्यालयले गर्न सकेको छैन् ।

विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले कक्षा अनुसारका शिक्षकन नहुँदा पठनपाठन गराउन निकै समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कक्षा पाँचसम्म अंग्रेजी माध्यममा पठनपाठन कार्य सञ्चालन गरेदेखि विद्यार्थी सङ्ख्या बढेको छ । विद्यालयमा १ सय ७२ विद्यार्थी अध्ययनरत छन् । विषयगत शिक्षकको अभावले कक्षा सञ्चालन गर्न कठिनाइ छ । सिकाई प्रक्रियामा समस्या उत्पन्न हुने गरेको छ । विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो दिएको छैन् ।’

नगरपालिका कार्यालयबाट प्रदान गरिदै आएको अनुदान रकम समेत यस वर्ष उपलब्ध नभएको कारण नीजिस्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब सुविधा समेत पाउन नसकेको प्रधानध्यापक भण्डारीको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेका र शिक्षक अभावका कारण ,नियमित मुल्याङ्कन तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न र शिक्षण समाग्री तयार पार्न समेत चुनौती रहेको शिक्षक कर्णबहादुर कँुवरले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विगतका वर्षमा नगरपालिकाले ५ लाख रुपियाँ अनुदान रकम उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष अनुदान रकम प्राप्त भएको छैन् । वडा कार्यालयले विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भनिएको २ लाख रुपियाँ हालसम्म प्राप्त भएको छैन् । शिक्षकहरुको तलब सुविधा उपलब्ध गराउन समस्या भएको छ । शिक्षक अभावका कारण मैले मात्रै ६ कक्षादेखि कक्षा ८ कक्षासम्म पढाउनु परेको छ ।’

दिपनगर आधारभूत विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा प्रभावकारी शिक्षण तथा सिकाई हुन नसकेको अभिभावक पुष्पा दमाईको भनाइ छ ।

विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन नसक्दा र कम्प्युटर र इन्टरनेटको व्यवस्था नहुँदा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षक उषा बडुको भनाइ छ ।

सात जना विषयगत शिक्षकको आवश्यककता भए पनि विद्यालयको आन्तरिक आयस्रोत नहँुदा विषयगत शिक्षकको व्यवस्थापन गर्न नसकिएको र यसका लागि सम्बन्धित निकायमा आग्रह गर्दा सुनवाई हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विषयगत शिक्षक मात्रै सात जना चाहिन्छन् । सम्बन्धित निकायमा आग्रह गर्दा सुनवाई भएको छैन् । विद्यालयमा कार्यरत शिक्षकले सात ओटा कक्षा अनिवार्य रुपमा पढाउँदै आउनु भएको छ । शिक्षक अभावमा पठनपाठन प्रभावकारी हुन सकेको छैन् ।’

विद्यालयहरुमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या हुदै आएको गुनासाहरु प्राप्त भए अनुसार नै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिरहेको शिक्षा विकास समन्वय ईकाईका सूचना अधिकारी राजेन्द्र भट्टले बताउनु भयो ।

अन्य

भिडियो