मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ०८० मङ्सिर ७ गते काठमाडौँको बल्खुमा आयोजना गरेको आन्दोलनका क्रममा दुई पटक झडप भएको छ ।
कालीमाटीतर्फबाट बल्खु हुँदै तिनकुने जाँदै गरेको नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको बाइक र्यालीमाथि दुर्गा प्रसाईंको आन्दोलनमा जम्मा भएका कार्यकर्ताले बिहान बल्खुमा ढुङ्गा प्रहार गरेपछि दोहरो झडप भएको थियो । उक्त झडपका क्रममा ढुङ्गामुढाबाट ६ ओटा मोटरसाईकल तथा स्कुटरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।
त्यसैगरी बल्खुमै भएको प्रदर्शनका क्रममा दुर्गा प्रसाईं समर्थकले प्रहरीको घेरा तोडेर कार्यक्रमस्थलबाट कालिमाटीतर्फ अगाडि बढ्न खोजेपछि दिउँसो प्रहरीसँग झडप भयो । प्रसाईंका समर्थकले प्रहरीको ब्यारीकेड तोडेर ढुङ्गामुढा गर्दै अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गर्दा झडप भएको थियो । अश्रुग्यास प्रहारपछि आन्दोलनमा सहभागि हुन आएका प्रदर्शनकारीहरू तितरबितर भएका थिए ।
झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुर्गा प्रसाईंको आन्दोलनमा सरिक हुन आएका १० जना प्रदर्शनकारी घाइते भए । घाइते हुनेहरूमा चट्टान थापा, कमल शाही, लोकराज जोशी, शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक रहेका थिए । घाइतेहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी झडपमा परी एक जना नेपाल प्रहरीका जवान पनि घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।
इन्सेक प्रतिनिधिसँग कुरा गर्दै प्रसाईंले नेतृत्व गरेका आन्दोलनका बाँकेका संयोजक तेजनारायण कंडेलले प्रहरीले आफूहरूको सभामा आएका व्यक्तिहरूलाई सानेपा, कलङ्कीतर्फ विभाजित गरी बल्खुमा जम्मा हुन नदिएर विभाजित गरिदिएपछि बल्खुमा झडपको स्तिथि बनेको बताउनु भयो ।
प्रदर्शनकारीलाई बल्खु चोकबाट कालिमाटी तर्फ अगाडि बढ्न नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ति बाक्लो रूपमा परिचालित भएका थिए । दिनभरको प्रदर्शनका कारण सानेपा, कालीमाटी, कलङ्की र बल्खु क्षेत्रमा यातायातसँगै सर्वसाधारणको दैनिकी प्रभावित भएको थियो । प्रदर्शनस्थलको इन्सेक केन्द्रीय कार्यालयबाट खटिनुभएको मदन पौडेल, कृष्ण गौतम, रमेशप्रसाद तिमल्सेना सहितको टोलीले अनुगमन गरेको थियो ।




