
राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर श्रवण कुमार मेहतालगायतकाले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १ गते उजुरी दिनुभएको छ ।
सामाजिक परम्परा अनुसार २०७४ फागुन २० गते विवाहित मनोज र मनिषाबीच मनमुटाव बढेपछि मनिषा सिरहाको गोलबजार नगरपालिका–२ लालपुर स्थित माइत विस्थापित भएकी छिन् । सप्तरी जिल्ला अदालतमा मनोजले उजुरी दर्ता गरेको सम्बन्ध विच्छेदको मुद्दा विचाराधिन छ । अदालतले मनिषालाई भेटघाट गर्न दिने गरी छोराहरू मनोजको जिम्मा लगाएको छ ।
अदालतको आदेशअनुसार ४ वर्षीय जम्ल्याहा छोराहरू भेटघाट गर्न घर गएको बेला आरोपितहरूले ज्यान मार्ने धम्की दिदै हेलमेट र काठको कुर्सीले कुटपिट गरी घाइते बनाएको मनिषाले बताउनु भयो । उहाँको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कात्तिक ३० गते उपचार भयो । यस्तै मङ्सिर १ गते पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भयो ।
आरोपित मनोजले अदालतमा मुद्दा चलिरहेको अवस्थामा माइत बसिरहेकी मनिषाले घरपरिवारमा कसैलाई जानकारी नदिई अपहरण गर्ने योजना अनुसार आएकोले उहाँको काखबाट बच्चा खोसिएको तर कुटपिट नगरेको बताउनु भयो ।