अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी साइपाल गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई तीन दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम चैनपुर आउनु पर्ने बाध्यता रहेका कारण सेवाग्राहीहरुको घरघरमा पुगेर नै भत्ता वितरण गर्न थालिएको हो ।
सदरमुकाम चैनपुरस्थित बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्ने कठिनाइ भएका कारण घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको साइपाल गाउँपालिका–१ का वडाध्यक्ष नरेन्द्र धामीले बताउनु भयो ।
लाभग्राहीलाई भत्ता बुझ्नका लागि सदरमुकाम आउदा तीन दिन पैदल हिड्नु पर्ने, ६, ७ हजार रुपियाँ भन्दा बढी खर्च हुने र साइपालबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनु भयो ।
पाँच÷ ६ दिन लगाएर कष्ठपूर्ण यात्रा गरेर सामाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम चैनपुर धाउनु पर्ने बाध्यता अन्त्य भएको भन्दै साइपाल गाउँपालिका–२ का ८० वर्षीय करसिगे बोहराले खुशी व्यक्त गर्नु भयो ।
जिल्लाको साइपाल गाउँपालिकामा बैंक नहुँदा सेवा प्रवाह गर्न समस्या भएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताउनु भयो ।
कार्यालय सञ्चालन लगायत सम्झौता भएका सबै योजनाको कामका लागि बैंक जानु पर्ने र यसका लागि सदरमुकाम नै पुग्नु पर्ने बाध्यता रहेको अध्यक्ष बोहराको भनाइ छ । गाउँपालिकामा बैंक नहुँदा योजनाको रकम भुक्तानी गर्न, सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब लगायतका लागि सदरमुकाम पुग्नुको विकल्प छैन ।
बैंक नभएपछि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि छुट्याएको लाखौँ रुपियाँ सदरमुकामबाट बोकेर गाउँपालिका लैजाने र सामाजिक सुरक्षा भत्ताको रकम घरघरमै दिने गरिएको अध्यक्ष बोहराले बताउनु भयो ।